Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका मुख्य योजनाकार मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ स्वचालित हतियारसहित सर्लाहीबाट पुनः पक्राउ परेका छन्।
गत वर्ष २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट फरार भएका थापालाई प्रहरीले सर्लाहीको बागमती नगरपालिका–२, मिलनचोकस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले बुधबार राति थापाको घरमा छापा मारेको थियो। पक्राउका क्रममा उनको साथबाट दुई थान स्वचालित पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
कारागारबाट फरार भएपछि थापा भेष बदलेर तथा अरूको मोबाइल फोन प्रयोग गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ छ। आफ्नै घरमा आएको सूचना पाएपछि प्रहरीले घेराबन्दी गरेर उनलाई नियन्त्रणमा लिएको हो।
बरामद हतियार तथा गोलीगट्ठासम्बन्धी कसुरमा थापाविरुद्ध सर्लाही जिल्ला अदालतमा छुट्टै मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। हतियारसम्बन्धी अनुसन्धान पूरा भएपछि उनलाई थप कानुनी कारबाही तथा बाँकी कैद भुक्तानीका लागि पुनः कारागार पठाइने प्रहरी प्रशासनले जनाएको छ।
चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष रहेका बाबु थापा न्यायाधीश रणबहादुर बमको हत्या योजनाका मुख्य व्यक्ति मानिन्छन्। राजनीतिक विवाद तथा सर्वोच्च अदालतको एक अन्तरिम आदेशसँग जोडिएको रिसइबीका कारण उनले हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको थियो।
२०६९ साल जेठ १८ गते ललितपुरको कुपण्डोलस्थित यूएन पार्क नजिकै न्यायाधीश बममाथि गोली प्रहार गरिएको थियो। बंगलामुखी मन्दिरबाट फर्कँदै गरेका बमको गोली प्रहारबाट हत्या भएको थियो। उक्त घटनाले न्यायिक क्षेत्र र सुरक्षा निकायमा ठूलो तरंग ल्याएको थियो।
हत्याकाण्डपछि फरार रहेका थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि २०७१ साल पुसमा पहिलोपटक पक्राउ गरेको थियो। प्रहरीले करिब दुई वर्ष सात महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको थियो।
अदालतबाट दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका थापा गत वर्ष जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसपछि प्रहरीले उनको खोजीलाई प्राथमिकतामा राख्दै आएको थियो।
पुनः पक्राउ परेका थापामाथि अहिले हतियारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ। नयाँ कसुरमा कानुनी प्रक्रिया पूरा भएपछि उनलाई अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिने प्रहरीले जनाएको छ।
२०८३ आश्विन २९
ताजा नेपाल
२०८३ आश्विन २९
ताजा नेपाल
२०८३ आश्विन २९
ताजा नेपाल