Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पहिरो हटाइएपछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सडकखण्डअन्तर्गत तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा सोमबार साँझ परेको अविरल वर्षापछि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। यात्रामा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझदेखि उक्त सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहानैदेखि डोजर तथा अन्य हेभी उपकरण परिचालन गरी तीनै स्थानको पहिरो हटाइएको हो। पहिरो पूर्ण रूपमा पन्छाएपछि सडकलाई पुनः दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।

सडक लामो समयसम्म अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारीसाधन रोकिएका थिए। सडक खुलेसँगै सवारीको चाप बढेकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेको जनाएको छ।

सरोकारवाला निकायले निरन्तर वर्षाका कारण सडक आसपासका क्षेत्रमा थप पहिरो खस्ने जोखिम अझै कायम रहेकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।