Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ।
जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय तोकिएको निवास मा पूरा गर्न दिने आदेश दिएका हुन्। यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उनलाई कहाँ राखिने भन्ने स्पष्ट पारिएको छैन।
सार्वजनिक गरिएको एउटा तस्वीरमा उनी दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ। सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीका एक वरिष्ठ स्रोतका अनुसार उनलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ।
नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। उनका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमै रहनेछ। सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन।
यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भने। यद्यपि सुकीका वकिलहरूले भने उनी अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन् ।
सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उनलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो।
अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित बताएका छन्। त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई प्रक्रिया बाहिर राखेका थिए। चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन।
लोकतन्त्रका पक्षधरहरूले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
विश्लेषकहरूका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय पनि त्यही रणनीतिको निरन्तरता हुन सक्छ। सुकीका छोरा किम एरिसले यसलाई पुरानै शैलीको खेल भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताए। उनले सुकीलाई परिवार र कानूनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिए।
देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिएकी छन्। परिवारले उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ।
यसैबीच, मिन आङ ह्लाइङले उनका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिएका छन्, जसलाई राजनीतिक सङ्केतका रूपमा हेरिएको छ ।
२०८३ बैशाख १८
ताजा नेपाल
२०८३ बैशाख १८
ताजा नेपाल
२०८३ बैशाख १७
ताजा नेपाल