काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने आज पनि अनुपस्थित हुने भएका छन् ।
शाह मुस्ताङ भ्रमणमा रहेका कारण बैठकमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । कार्यव्यस्तताका कारण उनी मुस्ताङ गएको सचिवालयको दाबी छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा उपस्थित छन् ।
बालेन्द्र शाह बैठकमा अनुपस्थित भए पनि उनीनिकट नेताहरू भने केन्द्रीय कमिटी बैठकमा सहभागी भइरहेका छन् । पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमा पुगिसकेका छन् ।
केही दिनअघि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा समेत शाहको अनुपस्थितिको विषय उठेको थियो । त्यसपछि सभापति लामिछानेले आगामी संसदीय दलको बैठकमा प्रधानमन्त्री सहभागी हुने बताएका थिए । तर, आजको केन्द्रीय कमिटी बैठकमा पनि शाह उपस्थित नहुने भएका छन् ।
असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनपछि रास्वपाको केन्द्रीय कमिटी बैठक तेस्रोपटक बस्न लागेको हो । आजको बैठकमा सभापति लामिछानेले केही केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनित गर्न सक्ने चर्चा छ । यद्यपि, यसबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य, ११ जना पदाधिकारी तथा १८ भन्दा बढी सचिवालय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । यसअघि लामिछानेले बालेन्द्र शाहलाई मात्रै वरिष्ठ नेतामा मनोनित गरेका थिए ।