Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूरा हाेला त विद्याकाे फेरि नेता हुने सपना

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक व्यक्तित्व मदन भण्डारीको प्रभाव आज पनि नेपालका वामपन्थी दल, विशेषगरी नेकपा एमालेमा गहिरो रूपमा कायम छ। सोभियत संघको विघटनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेको नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने श्रेय भण्डारीलाई दिइन्छ। उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा आज पनि स्थापित छ।

२०४६ साल भदौमा सिरहामा सम्पन्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव निर्वाचित भएका भण्डारीले बहुदलीय प्रतिस्पर्धासहितको नयाँ जनवादको अवधारणा अघि सारेका थिए। यही नीतिले संयुक्त जनआन्दोलनको आधार तयार गर्‍यो र नेपाली कांग्रेससँगको सहकार्यमा २०४६ सालको जनआन्दोलन सफल बन्यो।

२०४७ सालमा माले र मार्क्सवादीबीच एकता भई नेकपा एमाले बनेपछि भण्डारीको राजनीतिक उचाइ झनै बढ्यो। २०४८ सालको आमनिर्वाचनमा उनले काठमाडौं–२ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव स्थापित गरेका थिए।

२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्दै ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको आधिकारिक राजनीतिक कार्यक्रमका रूपमा स्वीकार गरेको थियो। यही अवधारणाले एमालेलाई सुदृढ संगठन निर्माण गर्न र राष्ट्रिय राजनीतिमा बलियो शक्ति बन्न महत्वपूर्ण आधार प्रदान गर्‍यो।

तर २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा भण्डारीको निधन भएपछि नेपाली राजनीतिले एक प्रभावशाली नेता गुमायो। उनको मृत्युबारे उठेका आशंका भने तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्। एमाले सरकारमा पटक–पटक पुगे पनि घटनाको सत्यतथ्य सार्वजनिक हुन नसकेको भन्दै कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

भण्डारीको स्मृतिमा स्थापित मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष उनको जन्मजयन्तीका अवसरमा विचार गोष्ठी तथा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। फाउन्डेसनकी अध्यक्ष तथा उनकी छोरी उषाकिरण भण्डारीका अनुसार संस्थाले शिक्षा, स्वास्थ्य र वैचारिक बहसका क्षेत्रमा काम गर्दै आएको छ।

गत वर्ष आयोजित मदन जयन्ती कार्यक्रममा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीबारे दिएका केही अभिव्यक्तिले विवाद उत्पन्न गरेको थियो। उनले भण्डारीको राजनीतिक यात्राबारे टिप्पणी गर्दै व्यक्तिगत आरोपहरू पनि उल्लेख गरेपछि एमालेभित्र असन्तुष्टि देखिएको थियो। त्यसयता पूर्वराष्ट्रपति विद्या भण्डारी र ओलीबीचको सम्बन्ध थप चिसिएको विश्लेषण गरिएको छ।

उक्त कार्यक्रमपछि विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत गर्दै पार्टी सदस्यता नवीकरण गरिन्। त्यसपछि एमालेभित्र नेतृत्वलाई लिएर विवाद बढ्दै गयो। पछि सम्पन्न पार्टी महाधिवेशनमा उनले ओलीविरुद्ध प्यानल नै खडा गरे पनि सीमित सफलता मात्र प्राप्त भयो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले अपेक्षाभन्दा कमजोर नतिजा व्यहोरेपछि पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठ्न थाले। त्यसपछि एमाले सचिवालयले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गर्दै उनलाई पुनः पार्टीभित्र सक्रिय बनाउने संकेत दिएको थियो।

यसैबीच, मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई एउटै मञ्चमा उपस्थित गरायो। लामो समयपछि शीर्ष वाम नेताहरू एउटै कार्यक्रममा देखिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

विद्यानिकट एमाले नेता विनोद ढकालले चार शीर्ष नेताको एउटै मञ्चमा उपस्थिति केवल औपचारिक कार्यक्रम नभई राजनीतिक सन्देश भएको बताएका छन्। उनका अनुसार नेपालमा कमजोर बन्दै गएको कम्युनिस्ट आन्दोलनलाई पुनः संगठित गर्ने संकेत यसबाट गएको छ।

भण्डारी निकट नेताहरूले पनि यसलाई वाम शक्तिबीच कार्यगत एकता हुँदै भविष्यमा व्यापक एकताको सम्भावना खोज्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले बदलिँदो पुस्ताको आकांक्षा र राष्ट्रिय आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनले आफूलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै उनले नीति र नेतृत्व दुवैमा परिवर्तन आवश्यक रहेको धारणा राखिन्।

वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै वाम शक्तिहरू दीर्घकालीन रूपमा एकताबद्ध हुनुपर्ने बताए।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि वाम तथा देशभक्त शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताए। उनले पार्टी एकताभन्दा पहिले कार्यगत एकतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट दलहरूले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्न सके मात्र पुनः जनविश्वास आर्जन गर्न सक्ने बताए।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा नेतृत्वको सरकारलाई प्रतिगमनको संज्ञा दिँदै त्यसविरुद्ध लोकतान्त्रिक र वाम शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन्।

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा देखिएको शीर्ष वाम नेताहरूको साझा उपस्थितिले तत्काल राजनीतिक समीकरण परिवर्तन हुने संकेत नदिए पनि भविष्यमा वाम सहकार्य र एकताको सम्भावनाबारे नयाँ बहस भने सुरु गराएको छ।