Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूरा होला रामचन्द्रको सपना ?

काठमाडौं। राष्ट्रपतिको संभावित दौडबाट बाहिरिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा फेरि सुरु हुन थालेको छ। कांग्रेस, माओवादी केन्द्रसहितको पुरानै गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लगभग अन्तिम तयारी भइरहेको समयमै अचानक गठबन्धन टुटेपछि उनको संभावना टरेको थियो। पुरानो गठबन्धन टुटेपछि एमाले माओवादीसहित नयाँ सात दलीय गठबन्धन बनेसँगै पौडेलको राष्ट्रपति बन्ने संभावना न्यून थियो। तर, पछिल्लो विकसित राजनीतिक घटनाक्रमले पुनः राष्ट्रपतिमा उनको चर्चा सुरु भएको छ। उनलाई राष्ट्रपति बनाउने बारे नयाँ एमाले माओवादीसहितको गठबन्धनमासमेत अनौपचारिक छलफल सुरु हुन थालेको छ। विश्वस्त स्रोतले दिएको जानकारी अनुसार आफूलाई विश्वासको मत दिएर सदनमा सर्वस्वीकार्य बनाउन विशेष भूमिका खेलेको भन्दै पौडेलप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उदार देखिएका छन्।
उनले गठबन्धनमा राष्ट्रपति कांग्रेसका शालीन नेता पौडेललाई बनाउने आकांक्षा ब्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा एमालेलाई सहमत गराउने प्रयत्न जारी रहेको बताइएको छ। यद्यपि शक्ति बाँडफाँट अनुसार राष्ट्रपति आफूले पाउने पूर्णतया विश्वस्त रहेको एमाले पौडेललाई स्वीकार्न असमर्थ रहेको बताएको छ। एमालेभित्रका चर्चामा रहेका अहाकांक्षीले समेत राष्ट्रपति छाड्न नहुने भन्दै अध्यक्ष केपी शर्मा ओलीमाथि दबाव बढाएका छन्। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसका शालीन, इमान्दार र सबैलाई मिलाएर लैजान सक्ने स्वच्छ छविका नेता पौडेललाई राष्ट्रपति बनाउनुपर्ने भन्दै केही नेतासँग छलफल गरेको स्रोतले जनाएको छ।
सबैको साझा प्रतिनिधित्व हुने गरी सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउँदा राष्ट्रपति संस्थाको गरिमा बढ्ने भन्दै गठबन्धनका केही नेताहरुसँग छलफल समेत अगाडि बढाएको बताइएको छ। गएको मंगलबार सदनमा बहुसंख्यक सांसदको विश्वासको मत आर्जन गरेका प्रचण्डले कांग्रेसले राष्ट्रपति लगायत अन्य केही राजकीय पद र संवैधानिक अंगमा नियुक्तिको अपेक्षासहित आफूलाई विश्वासको मत दिएकोमा जानकार छन्। प्रचण्डले कांग्रेसलाई पनि सत्ताका मूल पद बाँडफाँटमा हिस्सेदारी दिन तयार रहेपनि एमालेको अवरोधका कारण सहजै पौडेल राष्ट्रपति बन्ने संभावना नरहेको गठबन्धनका एक शीर्ष नेता बताउँछन्। ती नेताका अनुसार पछिल्लो विश्वासको मत प्रकरणले माओवादीसँग एमाले सशंकित रहेको वर्तमान अवस्थामा एमालको इच्छाविपरीत प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने मनस्थितिमा छैनन्। तर, पौडेललाई राष्ट्रपति बनाउन भने प्रचण्ड सकारात्मक रहेको साथै अनौपचारिक रुपमा छलफलसमेत चलाएको ती शीर्ष नेताको भनाइ छ।
पौडेलले गठबन्धनबाट आफू राष्ट्रपति बन्ने सर्वसम्मत भइसकेको अवस्थामा सत्ता समीकरण बदलिएपछि त्यो संभावना टरेको सार्वजनिक रुपमा बताइरहेका छन्। तथापि नयाँ गठबन्धन भत्काउने प्रयत्नस्वरुप कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ। कांग्रेसले विश्वासको मत दिएपछि उदार बनेका प्रचण्डले आफूलाई राष्ट्रपति बनाउनेमा पौडेल विश्वस्त रहेको स्रोत बताउँछ। प्रचण्डले पौडेललाई राष्ट्रपति बनाउन चाहेपनि गठबन्धनको मुख्य घटक एमालको दाबीका कारण अस्वीकार गरेकाले उनको संभावना क्षिण बन्दै गएको बताइन्छ। हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुनमा सकिँदैछ। त्यसपछि सुरु हुने राष्ट्रपति, उपराष्ट्रपतिे निर्वाचनमा उम्मेदवारी लगायत अन्य सरकारका पदीय भागबण्डा तय गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक निरन्तर बसिरहेको छ।