Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पैसाका लागि जे पनि हुन्छ हजुर

काठमाडौं । मान्छेले पैसाका लागि के मात्रै गर्दैन ? केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज केटासँग विहे भयो भन्ने सुनिन्छ। अहिले त परिवार नै कहाँ गयो पत्तो छैन।
केही महिनाअघि पोखरा ९, पृथ्वीचोक क्षेत्रकी एक अभिभावकले आफ्नी नाबालिग छोरी चिनियाँसँग मोबाइलमा बोल्दै गरेको भेटिन्। कुरा बुझ्दै जाँदा सोही टोलमा बस्ने एकजनाले ती नाबालिगहरूलाई पोखरामा बस्दै आएका चिनियाँ नागरिकसँग भेट गराइदिएका रहेछन्। भ्रमण भिसामा नेपाल आएका उनीहरूले ती नाबालिकालाई ‘म तिमीलाई माया गर्छु, लेकसाइडमा होटल खोलेर बसौँला, विहे गरौँ भनेर फकाएका रहेछन्, बाल अधिकारको क्षेत्रमा काम गर्दै आएकी एक अभियन्ताले भनिन्, उनीहरू पनि भाग्ने सुरसारमा रहेछन् तर बेलैमा थाहा पाएपछि त्यस्तो भएन। उनका अनुसार अहिले भ्रमण भिसामा पोखरा आएका केही चिनियाँ नागरिकहरूले भकाभक नेपालीहरूसँग विहे गरिरहेका छन्। विपन्न परिवारका नाबालिगहरूलाई परिवारकै सहमतिमा विहे गराउने गरिएको पनि उनले बताइन्। उनको यो भनाइलाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ। कास्की प्रहरीले विहेको नाटक गरी एक १४ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर राखेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने चिनियाँ नागरिक हुनान प्रान्तको भएको र इएम ४७५४५१३ नम्बरको पासपोर्टमार्फत् ९० दिनको भ्रमण भिसामा नेपाल आएका ३१ वर्षीय सी मेङ चेन भएको प्रहरीको भनाइ छ। ती चिनियाँ नागरिक पोखराको लेकसाइडमा रहेको मिराकल होटलमा बस्दै आएका थिए। चिनियाँ नागरिकसँग ति नाबालिगको भेट चाहिँ दुईजना नेपाली नागरिकले नै गराइदिएको खुलेको छ। लमजुङ साबिक भोजे हाल पोखरा १६ संगमटोल बस्ने २२ वर्षीया सरु बिक र पोखरा २० आर्वा बस्ने ३४ की भगवती अधिकारीले चिनियाँ नागरिकसँग पैसा लिएर नाबालिगको भेट गराइदिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए। उनका अनुसार सरु र भगवतीले, तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चाइनीज नागरिलाई चिनेका छौँ। तिमीले ऊसँग विवाह ग¥यौ भने तिम्रो भविष्य बन्छ, भनी फकाएका थिए। त्यसपछि उनीहरूले साउन १३ गते ती बालिकालाई चिनियाँ नागरिकसँग विहे पनि गराइदिएको र विहेपछि चिनियाँ नागरिकले नाबालिगलाई होटल मिराकलमा बन्धक बनाइ राखेका पनि प्रहरीको भनाइ छ। बन्धक बनाएर राखेकै बेला नाबालिग भागेकी थिइन्। पीडितकी आमाले साउन २९ गते पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाइ–फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाइ राखेको जिकिरसहित उजुरी दिएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध कास्की जिल्ला अदालत कास्कीबाट मानव बेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी शर्माले बताए। अहिले पोखरासहित देशका विभिन्न भागमा मानव बेचविखनमा संलग्न चिनियाँ गिरोह सक्रिय भएको विभिन्न तथ्यहरूले पुष्टि गरेको प्रहरीको भनाइ छ। चिनियाँहरूले अदालतमा विहे नै दर्ता गरेर गरीब र विपन्न परिवारका नाबालिगलाई चीन लगेको समेत प्रहरीको आशंका छ।


सम्बन्धित समाचार