Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
साढे २ करोड बीमा रकमका लागि बाँकेको कोहलपुरमा सुनियोजित रुपमा सवारी दुर्घटना गराएको खुलेको छ। सवारी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर फैसला भइसकेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले घटना सुनियोजित रहेको पत्ता लगाएका हो। उनीहरुले सुरुमै नक्कली विवाह गराउने, बिमा गरिदिने र दुर्घटना गराएर मार्ने योजना बनाएको खुलेको हो। २०७८ वैशाख २ गते राति करिव ११ बजे कोहलपुर नगरपालिका–११ का २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटनामा ज्यान गएको थियो। उनी बालुवा लोड गर्न भनेर घरबाट निस्केका थिए। काम सकेर भे १० प १७२७ नम्बरको मोटरसाइकलमा काम घरतर्फ फर्किँदै गर्दा उनलाई मिनी बसले ठक्कर दिएको थियो।
टोपबहादुर राना क्षेत्रीले चलाएको मिनी बसले उनलाई विपरीत दिशाबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटना २०७८ वैशाख २७ गते जिल्ला अदालतमा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। अदालतले गत माघ २५ गते फैसला सुनाउँदै सवारी चालक रानालाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गराएको थियो। त्यसबेला मोटरसाइकल धनी सरदार अहमद खाँले सफाइ पाएका थिए।
मृतक सर्जन सामान्य परिवारका सदस्य हुन्। तर उनको नाममा जीवन बिमा र म्यादी जीबन बिमा गरी २ करोड ५० लाख रुपैयाँको गरिएको थियो। मृत्युपछि २०७८ साउन १४ गते रियलायन्स लाइफ इन्सुरेन्स कम्पनीबाट उनकी श्रीमती सपना मल्लले २ करोड ५० लाख रुपैयाँ बिमा रकम बुझिन्। त्यसपछि उनले आफ्नो नाममा रहेको सानिमा विकास बैंकको खातामा जम्मा गरिन्। सामान्य व्यक्तिको नाममा अढाई करोडको बिमा भुक्तानीपछि नेपाल पुनर्बिमा कम्पनीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
मृतक सर्जन विकको सवारी दुर्घटनामा मृत्यु शंकास्पद देखिएको भन्दै पत्राचार गरिएको थियो। दाबी बापत कम्पनीले २ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व सिर्जना भएको भन्दै कम्पनीले सीआईबीलाई पत्र पठाएको थियो। सीआईबीलाई पत्र पठाएपछि घटनाको अनुसन्धान थालियो। त्यसपछि रियलायन्स इन्स्योरेन्स कम्पनीले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान माग गर्दै सीआईबीलाई पत्र पठाएको थियो।
मृतकले कामना सेवा विकास बैंकमा २०७७ फागुन ५ गते खाता खोलेका थिए। सपना मल्लको नाममा त्यहीँ फागुन १२ गते खाता खोलिएको थियो। तर उनीहरु दुवैको खाता सञ्जीवले नै खोलिदिएका थिए। त्यसपछि २०७७ फागुन १२ गते सर्जनको नाममा बिमा गरियो। जसको इच्छाएको व्यक्तिमा सपना मल्ल थिइन्। फागुन २८ गते पहिलो पटक सर्जनले बिमाको प्रिमियम तिरेका थिए। २०७७ चैत २ गते उनीहरुले विवाह दर्ता गरेका थिए। त्यसको एक महिनापछि दुर्घटना भएको हो। तर, श्रीमानको मृत्युपछि काजकिरियामा पनि श्रीमती सपना बसिनन्।
सर्जनको हत्यापछि उनीहरुले बिमा रकम बाँडफाँड गरेर लिएका थिए। सञ्जीव अर्यालले ८० लाख ३६ हजार रुपैयाँ लिए। दीपक केसीले ६० लाख, सपना मल्लकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार दिएका थिए। सपना मल्लले ८६ लाख ८९ हजार पाएकी थिइन्। सर्जन विकको आर्थिक अवस्था कमजोर थियो। उनी आफ्नै आम्दानीले बिमाको प्रिमियम तिर्न सक्ने अवस्थामा थिएनन्। बिमाको प्रिमियम मात्रै वार्षिक ५ लाख ४० हजार रुपैयाँ तिर्नु पर्थ्यो
उनले स्वघोषणा गरेको वार्षिक आम्दानी उनले २ लाख रुपैयाँ मात्रै देखाएका थिए। वार्षिक आयको अधिकतम् ४० प्रतिशत मात्रै बिमा गर्न सक्ने प्रावधान छ।
मृतकले सावधिक र म्यादी जीवन बिमा गर्नुपर्ने कारण पनि नदेखिएको सीआईबीको ठहर छ। यस्तै मृतक र सपना श्रीमान–श्रीमती भए पनि उनीहरुबीच सम्पर्क देखिएको थिएन। तर सपना र सञ्जीव अर्यालबीच घटनाअघि पनि पटक पटक सम्पर्क भएको थियो। मृतकको प्रथम प्रिमियम रकम पनि अर्यालले नै तिरि दिनुले प्रहरीको शंकालाई थप बल पुग्यो। बिमा अभिकर्ता सरदार अहमद खाँसँग पनि पहिलेदेखि नै उनीहरुको सम्पर्क देखिएको थियो। दुर्घटनामा पनि उनैको बाइक प्रयोग भएको थियो।
सपना, सञ्जीव र दुर्घटनामा संलग्न सवारी चालकबीच पहिलेदेखि नै बाक्लो सम्पर्क देखिएको थियो। बिमाबापत प्राप्त रकम पनि उनीहरुले बाँडफाँट गरेको पाइएको छ। घटनाको दिन सञ्जीवले मृतक, सपना, सरदार र चालक टोपबहादुरसँग पटक पटक टेलिफोन सम्पर्क भएको थियो। सावधिक जीवन बिमा र म्यादी जीवन बिमा दुवैमा दुर्घटना बिमा मात्रै उल्लेख भएको थियो। तर, कालगतिले मृत्यु भए बिमा सुविधा नपाउने उल्लेख थियो। यसले पनि दुर्घटना सुनियोजित हो भन्ने देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए।
घटना सुनियोजित
आरती भन्ने ललिता सापकोटाले सपना मल्ल र सञ्जीव अर्यालको भेटघाट गराएकी थिइन्। सपनालाई टिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने विषयमा उनीहरुबीच कुरा भएको थियो। २०७७ मंसिर २७ गते सपना सीप सिक्न काठमाडौं आएकी थिइन्। २०७७ फागुन २८ गते विवाह दर्ता गर्न भनि गएकोमा मृतकको उमेर नपुग्दा रोकिएको थियो। मृतकसँग सपनाको भने त्यतिबेला पहिलो भेट भएको थियो। त्यही चैत २ गते उनीहरुले विवाह दर्ता गरेका थिए। तर विवाह दर्ता पनि मृतक र सपनाबीच भेटघाट भएन। सपना मल्लको खाता पनि सञ्जीवले नै खोलिदिनु अर्को शंकास्पद थियो।
खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर सञ्जीवले नै लिएका थिए। विकको दुर्घटनामा मृत्यु भएको पनि सञ्जीवले नै सपनालाई जानकारी गराएका थिए।
तर, सपना मृत्यु संस्कारमा सहभागी भएकी थिइनन्। बिमा दाबी भुक्तानीको सबै काम सञ्जीव र दीपक केसीले नै गरेका थिए। सपना मल्ललाई त्यसबारे धेरै कुरा थाहा नै नभएको पाइएको छ।
सीआईबीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। तर, घटनामा अरुको पनि संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको एआईजी उत्तम सुवेदीले बताए। बाँके कोहलपुर नगरपालिका–२ की २१ वर्षीय सपना मल्ल पक्राउ परेकी छन्। उनी दिल्ली हुँदै जापान जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्। उनैले सर्जनसँग नक्कली बिहे गरेकी थिइन्। सपनालाई प्रलोभनमा पारी सर्जनसँग बिहे गराउने, दुर्घटना गराई बिमा वापत प्राप्त रकमबाट ८० लाख रुपैयाँ लिने सञ्जीव पनि पक्राउ परेका छन्। कोहलपुर–११ का ३१ वर्षीय अर्याल नै मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।
बिमा एजेन्टसमेत रहेका सरदार अहमद खाँ पनि पक्राउ परेका छन्। ३२ वर्षीय सरदारकै मोटरसाइकल दुर्घटनामा प्रयोग गरिएको थियो। कोहलपुर–१५ का उनको सञ्जीवसँग पुरानो चिनजान थियो। सपनालाई विदेश लैजाने एजेन्ट पनि पक्राउ परेका छन्। बाँकेकै बैजनाथका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री साउन ११ गते कोहलपुरबाट पक्राउ परेका हुन्। उनले मिनी बस चलाएर दुर्घटनास्थलमा जानुपर्ने कारण समेत नदेखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बारम्बार गाडी अगाडि पछाडि गरेकोसमेत उनले बयानमा बताएका थिए। घाइतेलाई पनि अस्पताल नलगी उनी फरार भएका थिए। यस्तै सपनासँग बिमाको भुक्तानी लिन काठमाडौं आउजाउ गरेका दीपक केसी पनि पक्राउ परेका छन्। ३८ वर्षीय केसीले सपनाको नाममा आएको बिमा रकममध्ये ६० लाख रुपैयाँ लिएका थिए। उनी पहिले पनि कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएको भन्दै अदालतबाट दोषी ठहर भएका थिए। यस्तै सपनालाई विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भन्दै सञ्जीवसँग चिनजान गराउने ललिता सापकोटा पनि पक्राउ परेकी छन्। उनी सञ्जीवको प्रेमिका रहेको प्रहरीको दाबी छ। पक्राउ परेका ६ जनाविरुद्ध सीआईबीले अनुसन्धान अघि बढाएको छ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल