Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डमाथि खनिए ओली पक्षका नेताहरु

काठमाण्डौं । अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीमाथि लगाएको आरोपका कारण अहिले नेकपाको विवाद भित्रभित्रै फैलिइरहेको छ । दाहालको आरोपपत्र बाहिरिएपछि ओली निकट नेताहरुले कडा आलोचना गरेका छन् । दाहाल निकट नेताहरुले भने ओलीले सच्चिनुको विकल्प नभएको तर्क गरिरहेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष दाहालका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै ओली निकट पोखरेलले दाहालले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको टिप्प्णी गरेका हुन् । उनले एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन अनुरोध पनि गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पनि दाहालको प्रतिवेदनको कडा आलोचना गरेका छन् । अध्यक्ष दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले अराजनीतिक प्रस्ताव गरेको, उक्त प्रतिवेदन स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको थापाको टिप्पणी छ ।
ओली पक्षका नेता गोकुल बास्कोटाले अविश्वास प्रस्ताव पेश गर्दा प्रतिपक्षले लगाउने जस्तो आरोप प्रचण्डले लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् । प्रचण्डले यस्तो अप्रमाणित पुलिन्दा फिर्ता नलिए गम्भीर तनावको यात्रा रोज्नुपर्ने चेतावनी उनले दिएका छन् ।
त्यसैगरी ओलीपक्षधर प्रभावशाली नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीमाथि संगीन आरोपहरू लगाएको भन्दै ति आरोपहरु २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध भएको बताएका छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित कि तँ छैनस् कि म छै भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएको पोखरेलेको आरोप छ । उनले प्रचण्डलाई उक्त प्रस्ताव फिर्ता लिन आग्रह पनि गरेका छन् ।
उता दाहाल पक्षधर नेता तथा उर्जामन्त्री वर्षमान पुनले दाहालको प्रस्तावलाई विवादित बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । पार्टीभित्र हुने छलफल, बहस र अन्तरविरोधबाट कोही आत्तिनु वा मात्तिनु नपर्ने भन्दै पुनले उत्तेजनामा नआउन ओलीपक्षधर नेताहरुलाई आग्रह गरेका छन् ।
दाहाल निकट अर्को नेता रामप्रसाद सापकोटा दिपशिखाले जिम्मेवार ब्यक्तीले पार्टी फुटाउने धम्की नदिन चुनौती दिएका छन । उनले पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ, बैठक राख्नुपर्छ र विवादित विषयमा छलफल गरौं भन्दा ओलीले नमानेकाले अहिलेको स्थिती आएको जिकिर गरेका छन् । ओली निकट नेताहरुको टिप्पणीलाई लक्षित गर्दै सापकोटोल पार्टी एकता संकटमा पर्छ भन्नु भ्रममा पार्नु र धम्क्याउनु भएको जवाफ दिएका छन् ।
नेताहरुबीच विवाद बढाउने र आरोप प्रत्यारोपमा उत्रिनुपर्ने अवस्था सृजना गराएको उक्त प्रतिवेदन दाहालले वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सहकार्य गरेर तयार परेका हुन् । उनीहरु सबै सचिवालय सदस्य हुन् । ९ जना सचिवालय सदस्यमध्ये ५ जनाको समहुले चार जनाको समुह रहेको ओलीमाथि गम्भीर आरोप लगाएपछि विवाद झन बढ्ने निश्चित भएको छ ।
यसैबीच ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले भण्डारीलाई भेटेका हुन् । राष्ट्रपतिसँगको भेटमा के कुरा भयो भन्ने बारे केही खुलाइएको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । आजै दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।


सम्बन्धित समाचार