Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय समिति विघटनसहित ४ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा सम्बोधन गर्दै प्रचण्डले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताए ।
‘केन्द्रीय समितिको बैठकबाट भएको अहिलेको अध्यक्षसहितका सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी कमिटी भङ्ग गरौँ, प्रचण्डले बैठकमा गरेको प्रस्ताव उद्धृत गर्दै एक पदाधिकारीले भने, तलका कमिटीहरू पनि भङ्ग गरेर सबै कमिटीलाई आयोजक समिति बनाऔँ ।
आयोजक समितिले तल्लो तहका कमिटीबाटै अधिवेशन गर्दै मङ्सिरभित्र केन्द्रको विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ । विशेष महाधिवेशनबाट नयाँ संरचनासहित संगठन बनाऔँ, प्रचण्डको प्रस्ताव छ, युवाहरूको अलिकति बहुमत हुनेगरी हैन, महिला, दलित लगायतलाई हुनेगरी एउटा संकल्प प्रस्ताव बनाउने र संगठनात्मक रुपान्तरणको प्रस्तावसहित वस्तुगत निर्णय महाधिवेशनबाट गरौँ । त्यो अनुसार एउटा प्रक्रिया र विधिबाट जो अध्यक्ष हुन्छ चुनेर जाऔँ । महाधिवेशनबाट प्रत्यक्ष चुनेर अध्यक्षसहितका सबै पदाधिकारी हुनेगरी जान समेत प्रचण्डले प्रस्ताव गरेको ती नेताको दाबी छ ।
यस्तै प्रचण्डले चुनाव र महाधिवेशनको तयारी सँगसँगै लैजान पनि अर्को प्रस्ताव गरेको ती नेताको भनाइ छ । मध्यावधि चुनावमा विगतमा भन्दा अलिकति फ्रेस ढंगले उम्मेदवारहरू छनोट गर्ने, एकखालको वृहत छलफल गरेर एउटा प्रतिस्पर्धाको आधारमा त्यस्ता उम्मेदवार पनि अघि सार्ने र जनताले रुचाएका व्यक्तिहरू खोजेर सँगसँगै तयारी गरेर जाने भन्ने छ, ती नेताको भनाइ छ ।
यस्तै प्रचण्डले फागुन २१ को निर्वाचन सफल बनाउन पार्टीको तर्फबाट वातावरण निर्माण गर्ने प्रस्ताव समेत गरेका छन् । यसैगरी बैठकमा प्रचण्डले जेनजी आन्दोलनपछिका अवस्थाबारे पनि व्याख्या गरेका थिए । अहिलेको अवस्था के कसो हो यो विशेष परिस्थितिमा मुलुकमा संकट आएको र सम्हाल्ने दायित्व हाम्रै काँधमा छ भन्ने अध्यक्षको भनाइ रह्यो, ती नेताले भने । अहिलेको परिस्थिति माओवादीबाहेक अरुले सम्हाल्न नसक्ने समेत प्रचण्डले जिकिर गरेको उनको भनाइ थियो ।
कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतको व्यवस्था अपरिहार्य रहेको र त्यो विगतमै लागू गर्न सकिएको भए अहिलेको जेनजी आन्दोलन देशले भोग्ने नगर्ने प्रचण्डको जिकिर थियो । अब तत्काल त्यसलाई सम्बोधन गराउन हामी जाग्नुपर्छ । देश, राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको पक्षमा हामी सम्हालिएर जानुपर्छ , प्रचण्डको भनाइ थियो ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल