Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेशका चार मान्यको पद चैट

जनकपुर । आफू निर्वाचित भएको दल छाडेर बरालिएका चार प्रदेशसभा सदस्यको पद चैट भएको छ । नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र) ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो ।
माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए । यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन् । यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए । उनले सभामुखसमक्ष बुझाइएको पत्रबारे कानुनी परामर्श भइरहेको पनि जानकारी दिए । प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् । माओवादी केन्द्रबाट जितेका मण्डल भने नेकपा एकीकरणअघि प्रदेशसभामा दलका नेता थिए । एकीकरणपछि नेकपाका संसदीय दलका नेता ओली पक्षका सत्यनारायण मण्डल बने । नेकपा छिनभिन्न भएपछि प्रदेश २ मा ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाल–खनाल समूहका संसदीय दलका नेता शत्रुधन महतो र माओवादी केन्द्रका संसदिय दलका नेता भरत साह बनेका छन् ।