Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन ।
मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ ।
मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा ९एमाले०का कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् ।
मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् ।
सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन् । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।
घटना बिबरण यस्तो छ
मधुमल्ला सडक नजिकै १० जनाको समूहमा रहेकामध्ये दुई जनाले निरौलालाई टाउकोको पछाडि भागमा मुक्काले हानेको दृश्य घटनास्थल नजिकैको सीसी क्यामेरामा कैद छ । पछि एक जनाले भुइँबाट ढुंगा टिपेर हानेपछि निरौला भुइँमा ढलेको दृश्य फुटेजमा देख्न सकिन्छ । सेतो गाडीको पछाडिको भागबाट ओर्लिएका एक व्यक्तिसहित अर्का एकजना निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिन्छन् । गाडीमा जाने व्यक्ति दमकका नम चेम्जोङसहितको समूह भएको परिवारले जनाएको छ ।
मावा खोला नजिकै ऐलानी पर्ती सार्वजनिक जग्गा छ । विवादित भनिएको जग्गा नम्बरी भएको बताइन्छ । त्यो जग्गामा मोरङको उर्लाबारीका प्रकाश कार्कीसहितको समूहले मंगलबार जेसीबीले माटो पुर्ने र सम्याउने काम गरिरहेको सूचना पाएपछि दमकका चेम्जोङसहित युवाहरू गाडीमा पुगेका थिए । त्यस क्रममा कार्की र चेम्जोङ पक्षबीच केहीबेर चर्काचर्की परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यही रहेका निरौलामाथि पछि राजु नेम्वाङ भनिने शेरबहादुर नेम्बाङ लिम्बू र सेतो गाडीमा आएका अर्का एक जनाले एकैसाथ कुटपिट गरेका थिए । अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दमक–७ का वडाध्यक्ष भीम पौडेलले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने बताए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल