Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैङ्क र एनप्याब्सनबीच सम्झौता

काठमाडौँ । प्रभु बैङ्क र सिनामङ्गल, काठमाडौँस्थित निजी क्षेत्रका विद्यालयहरूको छाता सङ्गठन एनप्याब्सनबीच बैङ्किङ कारोबार प्रभु बैङ्कमार्फत् गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैङ्क लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौँमा एक समारोहका बीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका छन् ।
प्रभु बैङ्क र एनप्याब्सनसँगको सम्पन्न सम्झौताबमोजिम एनप्याब्सनको आधिकारिक बैङ्क प्रभु बैङ्क हुनेछ । एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्कमार्फत् गर्ने छ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरूले पनि आफूलाई पायक पर्ने प्रभु बैङ्कको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरूबाट सङ्कलन गर्ने शैक्षिक शुल्क बैङ्कमार्फत् नै सङ्कलन गर्नलगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्कमार्फत् गर्न सक्ने छन् । उक्त विद्यालयहरूमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको तलबी खाता पनि प्रभु बैङ्कमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले बैङ्कमार्फत् नै तलब भुक्तानी लिन सक्ने छन् । एनप्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरूमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरूलाई एकीकृत वित्तीय सेवा जस्तै– नेपाल धितो पत्र बोर्डमा सूचीकृत कम्पनीहरूको आईपीओ, एफपीओ, डिबेञ्चरलगायतको सूचना उपलब्ध हुनुका साथै सेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधासमेत उपलब्ध हुनेछ । एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रमलगायत जुनसुकै कार्यक्रमहरूमा आधिकारिक बैङ्कको रूपमा प्रभु बैङ्कको नाम उल्लेख गर्ने छ । प्रभु बैङ्क र एनप्याब्सनका बीच सम्पन्न यस सम्झौताबमोजिम एनप्याब्सन अन्तर्गत सदस्य रहेका निजी क्षेत्रका विद्यालयहरू, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरूलगायत अभिभावकहरूले प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैङ्किङ सञ्जालमा सहभागी भई अधिकतम लाभ उठाउने छन् भन्ने बैङ्कले विश्वास लिएको छ ।


सम्बन्धित समाचार

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल