Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमाण संकलनको जिम्मा विज्ञ समूहलाई दिइयो

काठमाडौं । गमेको भूमिसहितको नयाँ नक्सा जारी गरेको नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो। सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा गठन गरिएको विज्ञ समूहमा गृहमन्त्री रामबहादुर थापाका प्रमुख स्वकीय सचिव सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, संविधानविद् विपिन अधिकारी, जल नदीविज्ञ डा. जगतप्रसाद भूसाल, नापी विभगका पूर्वमहानिर्देशक एवं सीमाविद् तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईं र परराष्ट्रका सहसचिव रामप्रसाद सुवेदी सदस्य छन्। समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वेदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्राहलयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश तोकिएको छ। कार्यादेशमा नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारी पत्र, तत्कालीन इस्ट इण्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुबै पक्षबाट प्रकाशितसमेत) संकलनको जिम्मा दिएको छ।
त्यस्तै सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्तावेज, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य प्रमाण, अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर तिरोभरो, तिरेका रसिद, भरपाई, पत्र वा आदेश, रुक्का, सनद सवाल आदि संकलनको जिम्मेवारी दिएको छ।
चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको छ। सिक्किमको सार्वभौमसत्ताको बारेमा यो डकुमेन्ट्री केन्द्रित छ। रे भारतका तत्कालीन चर्चित चलचित्र निर्देशक हुन्। अहिले पनि रेलाई भारतको चलचित्र क्षेत्रको ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ।