Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल प्रहरीमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाको तयारी भएको छ। ११ जना एसएसपीलाई जेठ १६ गते प्रहरी नायब महानिरीक्षक डीआईजीमा बढुवा गरेसँगै रिक्त भएका एसएसपी पदमा बढुवा गर्न छलफल अगाडि बढेको हो। तर प्रतिस्पर्धी धेरै हुँदा बढुवामा कुरा मिल्न सकिरहेको छैन। प्रहरीका एक उच्च अधिकारीका अनुसार यसअघि नै छलफल भए पनि कोटा थोरै र बढुवाका आकांक्षी बढी हुँदा सकस भएको हो। यसअघि डीआईजी बढुवा गर्दा भने वरीयता अनुसार नै गरिएको थियो। एकै पटक एसएसपी भएका १२ जना रहेकोमा उनीहरू मध्येबाटै ११ जना डीआईजीमा बढुवा भएका थिए। तर यसपटक भने सिनियर एसपीहरू विवादित छन्। बाँकी एसपी २०५८ सालमै प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। तर उनीहरू विभिन्न समयमा एसपीमा बढुवा भएका थिए। २०५८ सालको टोली समेतलाई प्रतिस्पर्धी मान्दा अहिले एसएसपीको प्रतिस्पर्धामा ३३ जना एसपी रहेका छन्। ३३ जनामध्ये सबैभन्दा सिनियर एसपी हुन् विमल बस्नेत। तर उनको ५ वर्षे बढुवा रोक्काको कारबाही सकिएको छैन। यही कारण यसअघि पनि छुट्दै आएका बस्नेत यसपटक पनि बढुवा हुने सम्भावना छैन। एसपीको वरीयतामा दोस्रो र तेस्रो नम्बरमा छन्, प्रकाश रानाभाट र कमल थापा। उनीहरू दुवै जना विवादित भएकैले यसअघिको बढुवामा छुटेका थिए। यसअघि उनीहरूसँगै एसपी भएकाहरू एसएसपीमा बढुवा भइसकेपछि कारबाहीकै कारण उनीहरू छुटेका थिए। तर अहिले एसएसपी बन्ने जोडबलमा छन्। एसपी तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत त अझ २०५६ सालका प्रहरी निरीक्षक हुन्। उनीहरूसँगै एसपी भएका ११ जना एसएसपी बनिसकेका छन्। यो टोलीबाट पहिलो नम्बरका एसपी हुन् तुलबहादुर कार्की। यसअघि पनि उनलाई छुटाएर उनीभन्दा पछाडिका एसपीलाई बढुवा गरिएको थियो। २०७७ वैशाखमा २४ जना एकसाथ एसपीमा बढुवा भएका थिए। त्यसमध्ये होबिन्द्र बोगटी, वेद विष्ट, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, सञ्जय सिंह थापा, महेन्द्र खड्का, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल र राजेन्द्रप्रसाद धमला एसएसपीमा बढुवा भइसकेका छन्। तर उनीहरूसँगै एसपी भएका तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेतसँगै दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल र दयानिधि ज्ञवाली एसपीमै कार्यरत छन्। उनीहरू यसपटक एसएसपी बन्ने लाइनमा छन्। केदार खनाल र रामप्रकाश साह राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुन्। यसपछि २०७७ माघमा एसपी भएका अधिकारीहरू पनि एसएसपीको प्रतिस्पर्धामा छन्। उनीहरू एसपीमा पछि परे पनि भर्ना भने २०५८ सालमै भएका हुन्। यो टोलीबाट भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन्। त्यतिबेला १६ जना एसपीमा बढुवा भएका थिए। यो टोलीसँगै भर्ना भएको तर एसपीमा पछि परेको अर्को टोली पनि अहिले नै एसएसपीमा बढुवा हुन खोजिरहेको छ। २०७८ मंसिरमा ८ जना एसपी भएका थिए। तीमध्ये २०५८ सालको ब्याचका ५ जना छन्। जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित त्यतिबेलाका एसपी हुन्। उनीहरू पनि एसएसपीको प्रतिस्पर्धामा छन्। तर विभिन्न चरणमा एसपी भएका यी ३३ जनामध्ये ११ जना मात्रै बढुवा हुनेछन्। सरकारले प्रहरीमा कहिले वरीयता अनुसार र कहिले छानीछानी बढुवा गर्दै आएको छ। यसपटक पनि वरीयतालाई आधार मान्छ कि आफू निकटलाई छान्छ भन्ने टुंगो छैन।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल