Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राकृतिक प्रकोपले रोकियो नेकपाको स्थायी समिति बैठक

काठमाडौं । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला जारी रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको बताएका छन्। श्रेष्ठले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको बताए। अर्को बैठक साउन २ गते बस्ने बताइएको छ। असारको १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन। स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता निकट नेकपाका स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पछिल्लो समय नेकपाभित्र संकट गहिरिएको छ। जारी संकटलाई समधान गर्न भन्दै गत सातादेखि दुई अध्यक्षबिच नियमित भेटघाट हुँदै आएको भएपनि कुनै ठोस समाधान निकाल्न दुबै अध्यक्ष असफल रहँदै आएका छन्। ओलीले दुबै पद नछाड्ने अडान राख्दै आएका छन् भने प्रचण्ड नेपाल गुटले भने दुबै पद छाड्नुपर्ने माग गर्दै आएका छन्। हिजो बिहीबार हुने भनिएको दुबै अध्यक्षबीचको भेटघाट हुन सकेन। दुई अध्यक्षबीच सहमतिका लागि प्रयास गर्ने भनेर बुधबारको स्थायी समिति बैठक स्थगित भएको थियो। बुधबार दुई अध्यक्षबीच भएको भेट पनि सकारात्मक भएको थिएन। प्रचण्डले बुधबार पनि प्रधानमन्त्री ओलीसँग अध्यक्षले राजीनामा दिनुपर्ने बताएका थिए। तर प्रधानमन्त्रीले अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्रीका लागि आम निर्वाचन कुर्नुपर्ने जवाफ फर्काएका थिए।