Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘प्रेस स्वतन्त्रता सेनानी’को बयान

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तमानलाई सम्मान गर्नु त हुँदै हो । संगसंगै सेनानीलाइ भविष्यको लागि पनि उर्जाशिल बनाउनु हो । तर, यस्ता सम्मानलाई सामान्यिकरण गर्दै बाँडियो भने पञ्चायतले बाँडेको ‘गोर्खा दक्षिण बाहु’कै स्तरमा पुग्नेछ । जुनकुरा यो सम्मान वितरण गर्दा पनि अन्यथा हुन सकेन । यसले महासंघ र पत्रकारिता जगत कै मान्यतालाइ धुलिसात बनाउन सक्छ ।

प्रेस, स्वतन्त्रता र सेनानीको अर्थ :
यो सम्मानमा तीन वटा शब्द प्रेस, स्वतन्त्रता र सेनानी परेका छन् । यो सम्मानको अन्तर्य यसैमा छ । यि शब्दका सप्रसंग व्याख्या गरेर तदनुकुलको सम्मान गरेमात्र यसको अर्थ पूर्ण हुनेछ । अन्यथा यो सम्मानको गरिमा पनि ध्वस्त हुँदै जानेछ । नेपाल पत्रकार महासंघले यो सम्मान कायम गर्न हदैसम्मको सम्झौता गर्नु हुन्न ।

प्रेस :
प्रेस छापाखाना हो । तर, पत्रकारिता र सञ्चारसम्बन्धी कामसंग सम्बन्धित पत्रकार, पत्रपत्रिका प्रकाशन, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चार माध्यमलाई प्रेस भन्ने गरिन्छ । त्यसैले प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भएर आउँछ । स्वतन्त्रता बेगर प्रेसको कुनै अर्थ हुन्न । यसर्थ प्रेसको महत्व राज्यको चौथो अंगको रुपमा छ । राज्यका तीन अंगलाई खबरदारी गर्ने यसको मूख्य दायित्व हो । यो दायित्व र जिम्मेवारीबाट प्रेस पन्सनु हुन्न । नेपाली प्रेसको छाता संगठनले यहि मुलमन्त्रमा गम्भीर ध्यान दिन जरुरी छ ।

स्वतन्त्रता :
भय, नियन्त्रण, प्रलोभनबाट मुक्त भै स्वतन्त्र रुपमा आफ्ना विचार तथा अभिव्यक्ति स्वतन्त्र रुपमा अभिव्यक्त गर्न पाउनु प्रेस स्वतन्त्रता हो । भयभित भएर गरिएको पत्रकारिता आजको भाकामा सेल्फ सेन्सरसिप गरिएको पत्रकारिताले जनसन्देश दिन सक्तैन । राज्य नियन्त्रित वा सम्पादकीय स्वतन्त्रताविहीन पत्रकारिताको त झनै अर्थ हुन्न । कतिपय सन्दर्भमा बजारको वा कुनै समूहको प्रलोभनमा परेर गरिने पत्रकारिता झनै घातक हुन्छ ।
प्रेस स्वतन्त्रता जनताको जान्न पाउने हक, पारदर्शिता र सूचनाको हकको रुपमा रहन्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण तत्व र संरक्षक मानिन्छ । यसर्थ यो अभिव्यक्ति र जान्न पाउने दुइ किसिमको स्वतन्त्रता हो । अर्को विचार अभिव्यक्तिको स्वतन्त्रता भनेको राजनैतिक आस्था र विश्वासको दर्शन अनुसार विचार निर्माण गर्ने स्वतन्त्रता हो । यो बोल्ने, लेख्ने स्वतन्त्रतामा मात्र सिमित छैन । यस्तो विचार सँधै परिवर्तनको पक्षमा हुनु पर्छ । परिवर्तनको विपक्षमा जाने स्वतन्त्रताको कुनै गुन्जाइस हुन्न । पत्रकारिताको सिद्धान्तअनुसार ‘आवाजविहीनहरुको आवाज’ पत्रकारिता हो । आवाजविहीनहरुको आवाजको जनमत निर्माण गर्न स्वतन्त्रता आवश्यक प¥यो । यसकारण प्रेससंग स्वतन्त्रता अन्तरसम्बन्धित भयो । यथास्थिति र पश्चगमनको पक्षपोषण पत्रकारिता हुनै सक्तैन । हरदम परिवर्तनको पक्षपोषण र वकालत गर्नुेमात्र पत्रकारिता हो ।

सेनानी :
सेनानी भनेको सेना शब्दबाट लिइएको हो । सेना युद्ध, शान्तिसुरक्षा आदिका लागि तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय हो । त्यही सेनाको उच्च अधिकृतलाई सेनानी भनिन्छ । पत्रकारिताको नेतृत्व गने अर्थमा यहाँ सेनानी शब्द प्रयोग भएको हो । यस प्रकारको स्वतन्त्रताको रक्षाको निम्ति लागि पर्नेहरु नै प्रेस स्वतन्त्रताका सेनानी हुन । तिनलाई सम्मान गर्दामात्र यस्तो सम्मानको औचित्य हुन्छ । अनुशासनहीन, आचारसंहीता उलंघन गरेबापत डामिएका, दुत्कारिएका पात्र कमसेकम प्रेस स्वतन्त्रता सेनानी हुन लायक छैनन् ।
तर यसपटक प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित सबै पत्रकारहरु परिवर्तनको पक्षपोषण गर्ने, गर्दै आएकाहरुका थिए, की थिएनन् ? मूख्य प्रश्न यहि हो । पुरस्कार र सम्मानका लागि अनेक तिगडमबाजी गरेर पाएका हुन या सांगठानिक वा त्यस्तै कुनै बल लगाएर पाए ? कतिपय कुरा त ओपेन सेक्रेट नै छ । यि प्रश्नहरुले जवाफ खोजि गरेका छन । योग्यता, क्षमता, लगाव र निरन्तरता परिवर्तनको निम्ति खर्चे खर्चेनन ? अहिलेको परिवर्तनको विपक्षमा राजतन्त्र, निरंकुशताको वकालत गर्ने पात्र प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका हुन भने यो सम्मानको भ्रष्टिकरण यहिँबाट सुरु भयो । पत्रकारितालाई सत्ता र पैसाको निम्ति उपयोग गर्नेले पाएको छ भनेपनि यसको औचित्य छैन । पुरस्कार थाप्ने लत लागेर दर्जनौं पटक पुरस्कार थाप्ने दुब्र्यसनीहरुले पाएका छन भने सम्मानकै अपमान हुनेछ । प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने योग्यहरु नै अपमानित भएको महशुस गर्नेछन् । उही गोर्खा दक्षिण बाहु भन्दा फरक हुनेछैन ।

सम्मानितको बायोग्राफी
यस पटक पत्रकार महासंघले केहि यस्ता पत्रकारहरुलाई सम्मान गरेको छ जसले सेनानीको वास्तविक तस्विर निस्केको छ । प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित धर्मेन्द्र कर्ण, इश्वरी वाग्ले, नरेन्द्रजंग पिटर र भवानी बराल यसै कोटीमा पर्छन ।

कर्ण
धमेन्द्र कर्ण मुलधारको मिडियामा स्थापित नाउँ हो । सँधैका श्रमजीवी कर्णले पत्रकारितामा उठाएको उचाँइ र वैचारिक निष्ठामा कहिल्यै सम्झौता गरेनन् । यिनले पत्रकारितामा देखाएको निष्ठा सबैको निम्ति एउटा उदाहरण हो । समाचार लेखेरमात्र पत्रकार हुने होइन । पत्रकारिताको व्यवसायिकताका नाममा गरिने परिपञ्चले प्रेस स्वतन्त्रताको खिताव जित्ने त कुरै आउँदैन । सेनानी हुने त परैको कुरा भयो । सेनामा जब सह–सेनानीको रुपमा एउटा सिपाहीँ भर्ति हुन्छ त्यहीँदेखि उसको परीक्षण सुरु हुन्छ । सेनाको त अनुशासन प्रमुख हो । पत्रकारको वैचारिक निष्ठा र दृष्टिकोण मूख्य हो

वाग्ले
इश्वरी वाग्ले जनपक्षीय पत्रकारिताका निरन्तर योद्धा हुन् । स्वराजगारमूलक पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रताको भूमिका आजपर्यन्त वाग्लेले गरिरहेका छन् । वाग्लेले योग्यता, क्षमता र विवेकले भ्याएसम्म प्रेस स्वतन्त्रताको इमान्दार सिपाहीँको भूमिकामा आफुलाई निखारेका छन । उनलाई नेपाल पत्रकार महासंघले सम्झना गर्दामात्र पनि सेनानीको अर्थपूर्ण सम्मान हुन्छ । कर्ण र वाग्ले दुवै पत्रकारले आजका मितिसम्म लाभका पद लिएर सस्तो मनोरञ्जन गरेका पनि छैनन् । यि दुईलाई सेनानीको सम्मान दिनु उचित हो ।

पिटर
यसरी नै नरेन्द्रजंग पिटर जनपक्षीय पत्रकारितामा स्थापित नाम हो । निरन्तरतासंगै वैचारिक बहसमा पनि खरो उत्रदै आएका पिटरको सम्मान उदेकलाग्दो छँदैछैन । उनको योग्यता क्षमताले परिवर्तन कै पक्षमा सेवा गरेको छ । प्रेस स्वतन्त्रताको वकालत गरेकै आधारमा उनी यहाँसम्म आइपुगेका हुन । परिवर्तनको निम्ति, आवाजविहीनहरुको निम्ति वकालत गरिरहने उनको कलमले प्रेस स्वतन्त्रता कै पक्षपोषण गरेको छ । यसरी पिटरको सम्झना सेनानीको रुपमा गर्नु अन्यथा हुँदै होइन ।

बराल
यस्तै अर्का सम्मानित पत्रकार भवानी बरालको आफ्नै कथाव्यथा छन् । मोफसलमा रहँदा होस वा राजधानीमा रहँदा होस उनले वैचारिक पत्रकारिता निरन्तर गर्दै आएका छन् । विचार निर्माण कै सिलसिलामा संघीयतासम्बद्ध पुस्तक लेखन गरेर आफ्नो वैचारिक श्रेष्ठता पनि देखाइ सकेका छन् । मूलधारका भनिएका सञ्चारमाध्यममा लामो समयसम्म स्तम्भकारका रुपमा रहेका बरालको लेखन निरन्तरतामा कुनै ब्रेक लागेको छैन । यस्ता व्यक्तिहरु प्रेस स्वतन्त्रता सेनानी कै रुपमा सम्मानित भए समुदायले पनि सम्मानको अपनत्व ग्रहण गर्नेछन् । सम्मान गर्दा आम जनसमुदायले नाक खुम्च्याउनु पर्ने स्थिति पैदा भयो भने सम्मानको औचित्यमाथि प्रश्नै प्रश्न आउँछ ।

निश्कर्षमा सेनानी

सेनानी उमेर हदको कारणले पाउने सम्मान पनि हैन । पत्रकारिताको उमेर छँदा गरेको कामको मूल्याङ्कनको आधारमा गरिनु पर्छ । प्रेस स्वतन्त्रता सेनानी विगत, वर्तमानको प्रस्ट चित्र हो भने भविष्यको छाँया चित्र हो । विगत ठीक थियो तर वर्तमान प्रेस स्वतन्त्रता विरोधी, लोभी लालची भूमिकामा रहने प्रेस सेनानी हुन योग्य होइन । हरेक जोगीले कान छेड्ने बेलामा महन्त हुने ख्वाब राखेका हुन्छन तर सबै जोगी महन्त हुन्नन् । यसरी नै पत्रकारिता लामो समय गरेकै भरमा विगतमा राम्रै गरेको तर आगतमा नकारात्मक छवी बनाएको व्यक्ति पत्रकारको प्रेस स्वतन्त्रता सेनानी हुने कुरो हैन ।
सेनामा पहिल्यै सेनानीको भर्ति हुन्छ । कतिपयको तल्लो दर्जाबाट फाइल बढुवा हुँदै सेनानी हुन्छन । तर पत्रकारितामा काम गरिसकेपछि वा काममा खरो उत्रेपछि मात्र सेनानीले विभुषित गरिने हो । पत्रकारितामा वृद्धाश्रम भन्ने हुन्न । समाजमा जेष्ठ नागरिकलाई उमेर हदमा दोसल्ला ओडाएर सम्मान गरे जस्तो गर्ने होइन । उमेर हदमा कुनै पत्रकारलाइ सेवासुविधा निवृत्तिभरण आदिबाट सम्मान गर्नु उचित हुन्छ । तर पत्रकारिता क्षेत्रको त्यो पनि ‘प्रेस स्वतन्त्रता सेनानी’ पदावलीले सम्मान गर्ने हो भने त्यसको आधिकारिक कारण, योग्यता र क्षमता जनपरीक्षणमा खरो उत्रेको हुनुपर्छ । आमसमुदायले पनि प्रेस स्वतन्त्रता सेनानीलाइ अनुमोदन गर्नु त्यत्तिकै जरुरी छ । राजनैतिक स्वतन्त्रताको आन्दोलनमा सेनानीको भूमिका हुनै पर्छ । पत्रकारिता, पत्रकार आखिर सबै विषयको मूल्याङ्कन गर्ने समुदायले हो । नेपाल पत्रकार महासंघले यो सम्मान उच्च सम्मान ठानेको हुनुपर्छ । नामैले पनि यसले दिने सन्देश उच्च छ । तर उच्च सम्मानको भागिदार व्यक्ति समुदायले पनि उच्च ठानेको हुनु पर्छ ।