Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि छुट्टै भातभान्साको तयारीमा भट्टराई

काठमाडौँ । कम्युनिष्ट पार्टीको औचित्य सकियो भन्दै नयाँ शक्ति निर्माण गरेर त्यसलाई पनि मटियामेट पारेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्री हेरफेर गरेलगत्तै असन्तुष्ट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठकमा उपस्थित संख्या हेरेर पार्टी औपचारिक विभाजन गर्ने, निर्वाचन आयोगमार्फत नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरताको प्रक्रिया सुरु गर्ने रणनीति रहेको एक नेताले बताएका छन् । जसपाका एक नेताका अनुसार पहिलो चरणमा अलग्गै पार्टी बनाउने र त्यसपछि आसन्न प्रदेश एवं संघीय निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकता र गठबन्धनका लागि संवाद थाल्ने भट्टराईको रणनीति छ । भट्टराईनिकट जसपा नेता गंगानारायण श्रेष्ठले आगामी कदमबारे विस्तारित बैठकमा छलफल हुने बताए । स्रोतका अनुसार पार्टीमा विवाद देखिन थालेपछि जसपा नेता हिसिला यमीको पहलमा ०७८ फागुन ५ मै निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी पनि दर्ता भएको छ । अध्यक्ष दीपक लामिछाने रहेको उक्त पार्टीको चुनाव चिह्न खुलेको एक आँखा छ । यमी नयाँ पार्टी दर्ताबारे आफूलाई जानकारी नभएको दाबी गर्छिन् ।भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि चुनाव चिह्न पनि खुलेको एक आँखा थियो । उक्त चुनाव चिह्न सुरक्षित गर्न पार्टी दर्ता गराइएको स्रोतको भनाइ छ । त्यही पार्टीलाई निरन्तरता दिने वा नयाँ दर्ता गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्ने भएको छ । भट्टराईले पार्टी विभाजनको सम्भावना देखेपछि नै विभिन्न राजनीतिक शक्तिसँग संवाद जारी राखेका छन् । एक नेताका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग सहकार्यबारे छलफल गरिरहेका छन् । दाहालसँगको संवादलाई लिएर भट्टराई पुनः माओवादीमा फर्किने चर्चा पनि चलेको छ । उपराष्ट्रपति निवासमा दाहाल र भट्टराईले पटक–पटक एक्लाएक्लै संवाद गरेको स्रोतले जनाएको छ । आफ्नो आग्रह बेवास्ता गर्दै प्रधानमन्त्री देउवाले एकलौटी रूपमा जसपाका मन्त्री हेरफेर गरेपछि भट्टराई ओली नेतृत्वको विपक्षी गठबन्धनमा जाने सम्भावना पनि रहेको एक नेताले बताए । भट्टराईनिकट ती नेताका अनुसार उक्त गठबन्धनमा एमाले, लोसपा र भट्टराईको नयाँ दल रहने सम्भावना छ । केही समयअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भट्टराईसँग भेट गरेका थिए । त्यसपछि अध्यक्ष ओलीसँग भट्टराईको संवाद भएको थियो । अर्कातिर जसपा अध्यक्ष यादवले यसअघि नै असार २७ र २८ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइसकेका छन् । यादवले भट्टराईले बोलाएको बैठकको अर्थ नभएको दाबी गरे ।