Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले सङ्क्रमित पन्छी तथा तिनका उत्पादन बिक्री नगर्न आग्रह गरे। उनका अनुसार बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विशेष सतर्कता अपनाइएको छ।

गत चैतयता देशका ११ जिल्लामा बर्डफ्लु पुष्टि भएपछि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागले जनाएको छ। केही जिल्लामा सङ्क्रमण नियन्त्रणको चरणमा पुगेको पनि विभागको दाबी छ।

विभागले मरेका कुखुरा जथाभावी फाल्न वा सङ्क्रमित पन्छी असुरक्षित रूपमा नष्ट गर्न नहुने भन्दै त्यसबाट मानिसमा समेत संक्रमण सर्न सक्ने जोखिम रहेको जनाएको छ।

हालसम्म बर्डफ्लु प्रभावित ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ।

प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि हुनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै नियन्त्रणको प्रभावकारी उपाय हो। नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ।