Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७५ वटा बिवाईडी विद्युतीय गाडीको भन्सार प्रक्रियामाथि प्रश्न उठेपछि सरकारले थप अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
भन्सार छलीको आशंकामा सशस्त्र प्रहरी बलले ती गाडी नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले छानबिन प्रक्रिया तीव्र बनाएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा रसुवागढी भन्सार कार्यालयबाट जाँचपास भएको भनिएका केही सवारीसाधन भन्सार बिन्दुमै नआएको तथ्य भेटिएपछि सम्बन्धित कर्मचारीमाथि कारबाही अघि बढाइएको जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको सिफारिसका आधारमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।
उता, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका भनिएका विद्युतीय गाडीहरूको विषयमा पनि स्थलगत अनुसन्धान भइरहेको छ। यसका लागि अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ।
प्रारम्भिक चरणमा भन्सार छलीको आशंका देखिएपछि सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएका गाडी तथा आयातकर्ता कम्पनीमाथि विस्तृत अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ।
सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्ति वा निकायमाथि कानुनअनुसार कारबाही गरिने बताएको छ। BYD गाडी आयातसँग जोडिएको यो प्रकरण पछिल्लो समय भन्सार प्रशासन र राजस्व प्रणालीको पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ।
२०८३ जेष्ठ २३
ताजा नेपाल
२०८३ जेष्ठ २३
ताजा नेपाल
२०८३ जेष्ठ २३
ताजा नेपाल