Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीआरआईः नेपालले अनुदानमात्रै स्वीकार्ने

काठमाडौं । सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको कार्यान्वयन योजनालाई लिएर घनीभूत छलफल गरिरहेको छ। पार्टीभित्र र सत्ता साझेदार दल नेकपा एमालेसँग उसले चिनियाँ ऋणमा विशेष सरोकार जनाउँदै छलफल तीव्र पारेको हो। कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि बेइजिङ जाँदै छिन्। उनी मंसिर ११ गते उपचारका लागि जापान जाने र त्यतैबाट १४ गते बेइजिङ प्रस्थान गर्नेछिन्। १५ गते बेइजिङमा उनको चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेट तय भएको छ। त्यसअघि कांग्रेस–एमालेबीच चीनसँगका एजेन्डा र अडान टुंग्याउने प्रयास सत्ता गठबन्धनमा चलिरहेको छ। बीआरआईबारे कांग्रेसमा अहिलेसम्म तीनथरी मत देखिएका छन्। एक, बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्दै नगर्ने। बरु यसअघि चीनले फरक फरक समयमा प्रतिबद्धता जनाएको अनुदान सहायता एकमुष्ठ हिसाब गरेर लिन पहल गर्ने। दुई, बीआरआईअन्तर्गत ऋण नलिने, अनुदान मात्र लिने गरी हस्ताक्षर गर्ने। तीन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित चीनको सहुलियत ऋणमा बनेका केही परियोजना अनुदानमा परिणत गर्न पहल गर्ने, तत्काल ऋण वा अनुदानबारे केही उल्लेख नगरी पछि परियोजना हेरी वित्तीय ढाँचा तय गर्ने। बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाबीच छलफल भएको थियो। सो छलफलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाह गर्दै अनुदानमा बदल्न र केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन अनुरोध गर्दा उपयुक्त हुने धारणा राणाले प्रधानमन्त्री ओलीसमक्ष राखेकी छन्। शुक्रबार कांग्रेसका केही सांसदसहितको छलफलमा डा राणाले यसबारे ब्रिफिङ गरेकी थिइन्। मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले कांग्रेसको चाहनाविपरीत कुनै सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएको मन्त्री राणाले पार्टी नेताहरूसँग बताएकी छन्। एक मन्त्रीका अनुसार बिहीबार राति सवा १० बजेसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो। त्यसपछि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. राणाबीच छलफल भएको थियो। यद्यपि यसबारे निर्णय निकास खोज्ने गरी कांग्रेससँग छलफल गर्न प्रधानमन्त्री ओलीले मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र मुख्य आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई जिम्मा दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई खटाएका छन्। त्यसो त कांग्रेसभित्रै सभापति देउवा, परराष्ट्रमन्त्री राणा, महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महतका बीचमा पनि धेरै चरणमा छलफल भएको छ। सभापति देउवा र प्रधानमन्त्री ओली बीआरआईकै कारण सत्ता सहयात्रामा समस्या नआओस् भन्नेमा सचेत देखिएका छन्। त्यसैले सकेसम्म दुवै दलका सबैथरी धारणाहरू सुनेर निकास खोज्न उनीहरू छलफल गरिरहेका छन्।