Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि देशका विभिन्न स्थानमा हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले सोमबार अपराह्न जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपास अवस्थित छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ।
यसको प्रभावले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ।
विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।
धानबाली भित्र्याउने समय भएकाले किसानलाई कृषि विज्ञको सल्लाहअनुसार मौसमसम्बन्धी जानकारी लिएर काम गर्न अनुरोध गरिएको छ।
त्यस्तै, हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा हुने वर्षाको मात्राका आधारमा वर्षालाई विभिन्न तहमा वर्गीकरण गरिन्छ।
| वर्षाको मात्रा | वर्गीकरण |
|---|---|
| १० मिलिमिटरभन्दा कम | हल्का वर्षा |
| १० देखि ५० मिलिमिटरभन्दा कम | मध्यम वर्षा |
| ५० देखि १०० मिलिमिटरभन्दा कम | भारी वर्षा |
| १०० देखि २०० मिलिमिटरभन्दा कम | धेरै भारी वर्षा |
| २०० मिलिमिटरभन्दा बढी | अति भारी वर्षा |
मौसम पूर्वानुमानमा प्रयोग हुने स्थानसम्बन्धी शब्दले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछ।
२०८३ आश्विन ६
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल
२०८३ आश्विन ६
ताजा नेपाल