Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुवासँग प्रेमको नाटक गरी एक वर्षीया बालिका अपहरण

मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणको आरोपमा पक्राउ परेका विराटनगरका रवीन्द्रकुमार साह र अनु साहलाई जिल्ला प्रहरी मोरङले सार्वजनिक गर्दै ।
प्रहरीका अनुसार अपहरित निकिसा मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन यादव र ममता यादवकी छोरी हुन् । दीपेनसँग प्रेमको नाटक गरिरहेकी विराटनगर–५ कारखाना टोलकी २७ वर्षीया अनु साहले बालिकालाई अपरहण गरेर दरभंगा पुर्‍याएको मोरङका एसपी शान्तिराज कोइरालाले बताए । अपहरणका मुख्य योजनाकार विराटनगर–६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह र सहयोगी अनुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
दीपेनको अनुसँग फोनमा सम्बन्ध प्रगाढ भएको सुरुवाती अनुसन्धानबाट खुलेको कोइरालाले बताए । ‘अपहरणको मुख्य योजनाकार रवीन्द्र र दीपेन सानैदेखिका साथी हुन्,’ उनले भने, ‘रवीन्द्रले २र३ वर्षदेखि प्रेम सम्बन्ध रहेकी अनुलाई योजनाबद्ध रूपमा दीपेनसँग सम्पर्क गराएर बालिका अपहरणको योजना बनाएका थिए ।’ दीपेनले सोमबार कारमा छोरीलाई लिएर विराटनगरस्थित रोडशेषचोकमा अनुलाई भेट्न पुगेका थिए । कोइरालाले भने, ‘अनुले बालिकालाई नयाँ लुगा लगाइदिएर काखमा बोकिरहेकै अवस्थामा साथीलाई फोन गर्छु भन्दै दीपेनको मोबाइल लिएर फरार भइन् ।’ पूर्वयोजनाअनुसार मोटरसाइकल लिएर रवीन्द्रसँग बालिकालाई लिएर सप्तरीको भारदह हुँदै भारतको कुनौली पुर्‍याएको अनुसन्धानबाट खुलेको कोइरालाले बताए । बालिकालाई भारतको दरभंगास्थित विकास साहको घरमा पुर्‍याएर रवीन्द्र त्यही दिन विराटनगर फर्केको अनुसन्धानबाट खुलेको छ । दीपेनमार्फत अनु र रवीन्द्रको सम्बन्धको बारेमा जानकारी पाएपछि मंगलबार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालिकालाई दरभंगा पुर्‍याएको खुलेको कोइरालाले बताए ।
‘तत्काल भारतको अररिया र दरभंगा प्रहरीसँग समन्वय गर्‍यौं,’ उनले भने, ‘बुधबार बिहान ८ बजे बालिकाको उद्धारसँगै अनुलाई पनि नियन्त्रणमा लिन सफल भयौं ।’ बुढीगंगा गाउँपालिका–१ टंकिसिनुवारीमा श्रीराम ट्रेडर्स सञ्चालन गरेका रवीन्द्रलाई ऋण लागेपछि बालिका अपहरणको योजना बनाएको कोइरालाले बताए । अनु र रवीन्द्रलाई अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक कोइरालाले बताए । फौजदारी संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा ७ देखि १० वर्ष कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।