Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकहरुले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । यस कारण पनि बैंकहरुको निष्कृय कर्जा बढ्ने अनुमान थियो ।

गतवर्ष २०७६ चैतसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निष्कृय कर्जा १ दशमलव ६६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०७७ चैतसम्म आइपुग्दा निष्कृय कर्जा घटेर १ दशमलव ३८ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकहरुले राम्रै परफरमेन्स देखाएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल सामान्यतया दुई कारणले निष्कृय कर्जा घट्ने बताउँछन् । पहिलो– निष्कृय एनपीएलमा गएको कर्जा उठ्नु पर्‍यो । दोस्रो– नयाँ कर्जा बढ्नुपर्‍यो । गतवर्ष १८ देखि २० प्रतिशतसम्म कर्जा बढेको छ । यसको भूमिका पनि रहेको हुनसक्ने उनी बताउँछन् । उदाहरणका लागि आज कुनै बैंकको एक सय रुपैयाँ कर्जा थियो त्यसको २० प्रतिशत निष्कृय थियो’ उनले भने, ‘अब त्यहाँ कर्जा बढेर २ सय पुग्यो भने एनपीएल १० प्रतिशत देखिन्छ, यसकारण एनपीएलमा गइसकेको कर्जा उठेमा वा नयाँ कर्जा लगानी धेरै भएमा पनि निष्कृय कर्जा घट्छ ।

नउठ्ने सम्भावना छ भने त्यस्तोलाई प्रोभिजन राख्नुपर्ने व्यवस्था छ । एक महिनासम्मलाई एक कर्जाको एक प्रतिशत प्रोभिजनमा राख्नुपर्छ । ३ महिनासम्म नउठेको ५ प्रतिशत कर्जालाई प्रोभिजन गरी सूक्ष्म निगरानी गर्नुपर्ने हुन्छ भने ६ महिनासम्म २५ र एक वर्षसम्म ५० प्रतिशत कर्जालाई यस्तो सूचीमा राख्नुपर्ने हुन्छ । तिर्नुपर्ने एक वर्षसम्म पनि कर्जा उठेन भने त्यस्तो शतप्रतिशत कर्जा नै निष्कृय कर्जाको रूपमा राख्नुपर्ने हुन्छ ।


सम्बन्धित समाचार