Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
गाउँका गुरुवा थारू समुदायको देउता मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् ।
उनका अनुसार २५ वर्षीय मनोजलाई गुरुवा आएको भन्दै पुस १ गते दिउँसो सबै परिवारबाट एक–एक हजार उठाइएको थियो । उनले पनि माइतीबाट एक हजार मागेर बुझाएकी थिइन् । राति ८ बजेतिर घरमै बच्चा स्याहार्दै बसेका बेला रामलाल चौधरी, करन चौधरी र जयराम चौधरी आए ।
तँ बोक्सी होस्, हामीलाई सताउँछेस् भन्दै मलाई घरभित्रबाट निकालेर आँगनमा कुट्न थाले, उनले सुनाइन्, जयरामका छोरा रमेशले कुटपिट गर्न नहुने भन्दै
कुटपिट हुँदा घरमा हसिना र उनका दुई बच्चा मात्र थिए । त्रासमा रात बिताउनुपरेको हसिनाले सुनाइन् । श्रीमान् चुन्नीलाल मजदुरीका लागि चार दिनअघि भारतको पुने गएका थिए । परिवारको आम्दानीको स्रोत नै ज्यालामजदुरी मात्र हो । मैले भोलिपल्टै श्रीमान्लाई फोन गरेर बोक्सीको आरोपमा आफूमाथि कुटपिट भएको सुनाएँ । प्रहरीमा पनि निवेदन दिएँ, हसिनाले भनिन् ।
प्रहरीमा निवेदन दिएको पर्सिपल्ट पनि हसिनामाथि कुटपिट भयो । दिउँसो ३ बजेतिर जयराम, रामलाल, करन, रूपा चौधरीलगायत पाँच महिला र ६ पुरुषको समूह उनको घर पुग्यो । ‘एक्कासि मेरो घर आएर उनीहरूले मलाई घरबाट निकालेर कुटपिट गरे । जगल्टा लछार्दै गुरुवा मनोजको घर पुर्याए । गुरुवाको घरमा आँगनमा बिछ्याइएको परालमा सुताए ।
त्यसपछि केहीले लट्ठीले हाने, कसैले लात्तैलात्ताले हाने, हसिनाले सुनाइन्, त्यसपछि शरीरमा पानी खन्याए । बोक्सी हुँ भन् भन्दै कबोल गर्न भने तर म बोक्सी होइन भनें । मैले नमानेपछि फरुवाले मेरो गर्धनमा ताक्दै गर्दा मेरो श्रीमान् आइपुग्नुभयो । त्यसपछि म बाँचें । अनि के भयो, मलाई याद छैन ।
बोक्सीको आरोपमा समूहले कुटपिट गरिरहँदा गाउँले रमिते बनेका थिए । म आइनपुगेको भए उनलाई मार्ने थिए । मेरा बालबच्चा टुहुरा हुने थिए, चुन्नीलालले कान्तिपुरसित भने ।
कुटपिटले हसिना बेहोस भएकी थिइन् । उनलाई श्रीमान् चुन्नीलालले तत्काल भजनी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याए । त्यहाँका स्वास्थ्यकर्मीले धनगढी रेफर गरे । धनगढीको नवजीवन अस्पतालको आईसीयू सघन उपचार कक्ष मा ६ दिनसम्म राखेर उनको उपचार गरियो । मंगलबार भने उनलाई वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्था स्थिर छ । मानसिक अवस्थामा केही समस्या छ । शरीरभरि नीलडाम र घाउचोट छन्, नवजीवन अस्पतालका डा। विदुरमणि ढकालले भने, उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।
हसिना शय्याबाट आफैं उठ्न सक्ने अवस्थामा छैनन् । बोल्न पनि कठिन छ । जीउ दुखेर रातभर सुत्न सक्दिन, छटपटाइरहन्छे, उनको हेरचाह गरिरहेकी आमा सीतारानी चौधरीले भनिन् ।
उजुरी पर्नासाथ प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको भए हसिना थप कुटपिटबाट जोगिने थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरी भने पीडितकै आग्रहमा कारबाही अगाडि नबढाएको दाबी गर्छन् । पीडितले भने प्रहरीको दाबीलाई झूटो भनेकी छन् ।
दोस्रो पटकको कुटपिटपछि मात्रै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरीलाई पक्राउ गरेको हो । ‘केही फरार छन् । हामी अनुसन्धानमै छौं, धेरै कुरा भन्न मिल्दैन, प्रहरी निरीक्षक चौधरीले भने ।
कुटपिटका लागि निर्देशन दिएको आरोप लागेका भलमान्सा लालबहादुर चौधरीले भने आफूले नै प्रहरीलाई खबर दिएको दाबी गरेका छन् ।
मनोजलाई गुरुवा आएपछि सबै गोतियार उनको घरमा भेला भएका थिए तर हसिना आइनन् । त्यसैले उनलाई माफी मगाउने कुरा भएको भन्ने सुनेको हो । तर, उनीमाथि कुटपिट भयो, उनले भने, कुटपिट हुनबाट हसिनालाई कसैले पनि जोगाउन सकेनन् । मनोजले मलाई पनि कुटपिट गर्यो । त्यहाँबाट भागेर मैले नै प्रहरीलाई खबर गरेको हो । भलमान्सा गाउँ–समाजमा जानैपर्ने भएकाले गएको तर घटनामा आफ्नो कुनै संलग्नता नरहेको चौधरीले दाबी गरे ।
गुरुवा मनोजका दाजु प्रेम चौधरीले हसिनालाई माफी मगाउने कुरा चलेकामा कुटपिट भएको बताए । मनोजलाई देउता आएर लट्ठीले कुटपिट गर्न थालेपछि सबै जना डराए, म त त्यति बेला भजनीबाट भर्खर आएको थिएँ, उनले भने ।
भजनीका अगुवा रतन रेग्मीले गाउँमा जघन्य अपराधको घटना भएको टिप्पणी गरे । उनका अनुसार मनोजलाई पहिलो पटक गुरुवा आएको थियो । गौनैयाका थारू समुदायमा कुनै व्यक्तिलाई पहिलो पटक गुरुवा आएको दिन नातेदार सबैले घरघरमा दियो जलाएर व्रत बस्नुपर्ने नियम छ । तर बोक्सी भएका कारण हसिनाले घरमा दियो नबालेको आरोप लगाएर पुस १ मा कुटपिट गरिएको उनका बुबाबाट जानकारी पाएको रेग्मीले बताए ।
पीडित महिलाले खबर गरेपछि उनका बुबा सीताराम चौधरीले भोलिपल्ट मलगायतलाई छलफलका लागि भनेका थिए । तर म भजनीबाहिर भएकाले जान पाइनँ, उनले भने, ४ गते पनि गुरुवाले हसिनालाई बोक्सीको आरोप लगाएपछि निर्घात कुटपिट भएछ । घटना भएको वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ घटनाबारे विस्तृत जानकारी नभएको बताउँदै पन्छिए । गौनैयाका बासिन्दा पनि यसबारे मुख खोल्न मान्दैनन् ।
भजनीका नगर प्रमुख केबल चौधरीले मंगलबार अस्पताल पुगेर पीडितको अवस्था सोधपुछ गरेका थिए । यति ठूलो घटना हुँदा पनि मलाई कुनै जानकारी गराएनन्, नगर प्रमुख चौधरीले भने, मेरै वडाको घटना हो । म काठमाडौं भएकाले घटना भएको दुई दिनपछि थाहा पाएँ । हुनै नहुने घटना भयो । पीडितको उपचारमा लागेको खर्च नगरपालिकाबाट बेहोर्न कुरा गर्छौं ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उक्त घटना जघन्य अपराध भएको बताए । बोक्सीको आरोपलगायतका घटनामा शून्य सहनशीलताको नीति छ । कुनै पनि हालतमा फरारलाई पक्राउ गर्न निर्देशन दिएको छु, उनले भने, भलमान्सालगायतको पनि संलग्नता रहेको सुनिएको छ । विस्तृत अनुसन्धान गर्न भनेको छु ।
२०८१ पुष ११
ताजा नेपाल
२०८१ पुष ११
ताजा नेपाल
२०८१ पुष ११
ताजा नेपाल