Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भत्ता मात्रै खाएको भन्दै ओली रन्किए

काठमाडौँ । आफ्नै पार्टीका सांसदहरुले भत्ता लिँदै संसद अवरुद्ध गर्दै गरेका बेला प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । ओलीले थपे, पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ । प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो । दोस्रोपटकको विघटन पुनः स्थापना गर्ने क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्रीबाट ओली बाहिरिएपछि एमाले विभाजन भएको थियो । सोही विभाजनलाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का दुवै सदनमा अवरोध जारी राखेको छ । ६ महिनादेखि एमालेले संसद्‍मा अवरोध जारी राखेको छ । जसका कारण संसद्ले काम गर्न सकेको छैन । सांसद्हरूले भत्ता र तलब भने लिइरहेका छन् । ओलीले सोही कुरालाई लिएर संसद्ले काम गर्न नसकेको, सांसदले भत्ता मात्रै खाइरहेको भन्ने अभिव्यक्ति दिएका हुन् ।


सम्बन्धित समाचार