Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ २४ को विध्वंसबारे निष्पक्ष छानबिन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलन तथा त्यस क्रममा भदौ २४ गते भएका तोडफोड, आगजनी र विध्वंसका घटनाको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस वक्तव्य जारी गर्दै भदौ २४ गते भएका विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’को संज्ञा दिएका छन्। उनका अनुसार अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरोध र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट प्रेरित हुँदै युवाले सामाजिक सञ्जालमार्फत सुरु गरेको आन्दोलनमा राज्यले दमनको बाटो रोजेको थियो। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै संदिग्ध तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गरेको प्रचण्डको दाबी छ।

सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा भएको लुटपाट, आगजनी तथा तोडफोडबारे गम्भीर अनुसन्धान आवश्यक रहेको उनले बताएका छन्।

प्रचण्डले वास्तविक जेन–जी अभियन्ताहरूले भदौ २३ गते दिउँसो नै आन्दोलनमा ‘घुसपैठ भयो’ भन्दै ‘घर फर्कौं’ भन्ने आह्वान गरेको र प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट तथा आगजनी जारी रहनुले घटनाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्। संगठित समूहको परिचालन तथा प्रज्वलनशील पदार्थको प्रयोग भएको देखिनुले घटनापछाडि षड्यन्त्रको सम्भावना देखिएको उनको भनाइ छ।

उनले संसद् विघटन, गैरदलीय सरकार गठन र निर्वाचन घोषणा जस्ता घटनाक्रमले पनि समग्र विषयमा उच्चस्तरीय अनुसन्धान आवश्यक बनाएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न तथा आयोगले औंल्याएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नसमेत उनले माग गरेका छन्।

वक्तव्यमा जेन–जी पुस्ताले खोजेको परिवर्तन अझै प्राप्त हुन नसकेको र नागरिकमा पुनः निराशा बढेको दाबी गरिएको छ। महँगी, सुस्त अर्थतन्त्र, बेरोजगारी, युवा पलायन, बढ्दो सार्वजनिक ऋण र करको बोझका कारण सर्वसाधारण प्रभावित भएको प्रचण्डले बताएका छन्।

नयाँ सरकारले संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताजस्ता संविधानका मूलभूत संरचना कमजोर पार्न खोजेको आरोपसमेत उनले लगाएका छन्।

प्रचण्डले नेकपा त्यस्ता प्रतिगामी तथा निरंकुश प्रयासको दृढतापूर्वक प्रतिवादमा रहने बताएका छन्। युवाको आवाज दबाएर नभई सुनेर र सम्बोधन गरेर मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै उनले प्राप्त अधिकारको रक्षाका लागि शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता तथा नागरिक समाजलाई एकताबद्ध हुन अपिल गरेका छन्।