Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतको अत्याचारविरुद्ध किन बोल्दैन सरकार ?

दार्चुला । छिमेकीलाई कम्फर्टटेबल हुने गरी गठन भएको वर्तमान सरकार भारतको अत्याचारविरुद्ध कहिलेसम्म कान थुनेर बस्छ ? वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजनामा व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किएका थिए । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो । गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६÷७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री थिए जयसिंह । उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए । तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन् । घटनाबारे केहीबेरमै दुम्लिङ प्रहरी चौकीमा खबर भएको थियो । दुम्लिङ र सुन्सेरा चौकीबाट प्रहरी तथा दुम्लिङ बीओपीका सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । तर, मध्यरातसम्म पनि कतै केही पत्तो लागेको छैन । घटनालगत्तै नेपाल प्रहरीले पारिका प्रहरीलाई पनि खबर गरेको थियो । जयसिंहभन्दा अघि तरेर गएका तीन जनालाई केहीबेर नियन्त्रणमा लिएर एसएसबीले पाङ्लास्थित पोस्टमा राखेको थियो । पछि उनीहरूलाई छाडिसकेको छ । तर, उनीहरूसँग संवाद हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जयसिंह महाकाली नदीमा बेपत्ता भएको यकिन भए पनि घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ४० नम्बर गण दार्चुलाका गणपति नरेन्द्रबहादुर बमले भारतीय एसएसबीका कमान्डेन्डसँग बुझ्दा मानिस तरिरहेकै अवस्थामा तुइन खोलेको हुन नसक्ने जवाफ आएको बताए । तर, न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । जयसिंहले तुइन तर्दै गर्दा पोसाक र हतियारसहित आएका एसएसबीले तुइन काटेको लिखित दाबी उनीहरूको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । यस्तै, बेपत्ता युवकका आफन्तले घटना छानबिनको माग गर्दै महाकालीपारि भारतको पाङ्ला थानामा पनि निवदेन दिएका छन् । पहिलेदेखि नै स्थानीयले घाट बनाएर वारपार गरिँदै आएको ठाउँबाट महाकाली तरिरहँदा एसएसबीका जवानले तुइनको तार काटेकाले जयसिंह नदीमा खसेको उनीहरूको दाबी छ ।


सम्बन्धित समाचार