Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको छ । बिहीबार स्वीकृत भएको कार्यविधिअनुसार अब भिजिट भिसामा विदेश जाँदा पासपोर्ट, भिसा र टिकटबाहेक अध्यागमन कर्मचारीले थप कागजपत्र माग्ने छैनन् । यसअघिको ६ बुँदे कार्यविधि संशोधन गरी तीनबुँदे बनाइएको हो । जसअनुसार ६ महिना अवधि भएको पासपोर्ट, गन्तव्य देशको भिसा र टिकट मात्र अध्यागमनले जाँच गर्नेछ । यसअघि दुईतर्फी हवाई टिकट, न्यूनतमपाँच सय अमेरिकी डलर र होटल बुकिङसमेत देखाउनुपर्ने प्रावधान थियो ।
नयाँ कार्यविधि स्वीकृत भएको र अध्यागमन विभागले त्यसलाई कार्यान्वयनमा लैजाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । दुईतर्फी टिकटका कारण पनि ठगी देखिएकाले एकतर्फी मात्र टिकटको प्रावधान राखिएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै, होटेल बुकिङको कागजपत्र पनि जाँच गर्ने प्रणाली नभएकाले त्यसलाई अनिवार्य बुँदामा राखिएको छैन । पाँच सय डलरको प्रावधान अनावश्यक भएको भन्दै हटाइएको छ । सहज प्रावधान राख्दा वैदेशिक रोजगारीको उद्देश्यले भिजिट भिसामा धेरै विदेश जाने र उता समस्यामा पर्न सक्नेसमेत आकलन गरिएको छ । त्यसका लागि श्रम प्रक्रियालाई सहज बनाउने तथा विदेशस्थित संयन्त्रलाई सक्रिय बनाउने सरकारको तयारी छ ।
अघिल्लो सरकारको समयमा गृह मन्त्रालयको समेत मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखभन्दा धेरै असुली गरिएको खुलेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ । सो घटना बाहिरिएपछि विपक्षी दलको मागअनुसार सरकारले गठन गरेको समितिले पनि कार्यविधिलाई सरल बनाउन सिफारिस गरेको थियो । सोहीअनुसार नयाँ कार्यविधि बनेको हो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल