Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुटानी शरणार्थी प्रकरणमा नर्स पनि तानिइन्

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका मध्ये एक जना प्रहरी अस्पतालमा कार्यरत नर्स रहेको पाइएको छ। आफ्नै कर्मचारी पक्राउ परेको विवरण भने प्रहरीले अहिलेसम्म गोप्य नै राखेको थियो। पक्राउ परेकी ती महिला प्रहरी सेवाकी सई दर्जाकी नर्स लक्ष्मी महर्जन हुन्। उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको पाइएको छ। नर्स लक्ष्मी पक्राउ गर्दा प्रहरीले एक व्यक्ति पक्राउ परेको भनेर उनको नाम मात्रै बताएको थियो। उनको पृष्ठभूमि र यो ठगी प्रकरणमा के भूमिका भन्ने खुलाएको थिएन। जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो।
यो ठगी प्रकरणमा भीआईपी व्यक्तिहरुको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ। पूर्वउपप्रधानमन्त्री तथा सांसददेखि गृहमन्त्रीदेखि, सचिवसम्म पक्राउ परेको यो प्रकरणमा प्रहरीकी नर्स कसरी जोडिन् भन्ने प्रश्न तेर्सिएको छ। खासमा यो प्रकरणमा लक्ष्मी पक्राउ पर्नुमा उनका श्रीमानको मुख्य भूमिका रहेको अनुसन्धान अधिकारीहरु बताउँछन्। लक्ष्मीका श्रीमान् हरिभक्त महर्जन हुन्। हरिभक्त पनि यो ठगी प्रकरणमा पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन्। हरिभक्त सहकारीमा काम गर्थे। हरिभक्तका मिल्ने साथी हुन् टोखाका हरिशरण केसी। पहिला आफू समेत पीडित भएको बताउने केसीलाई समेत प्रहरीले पक्राउ परेको थियो। उनी आफू पनि अमेरिका जान खोज्ने र अन्य मान्छे खोजेर रकम समेत उठाउने काम गरेको पाइएपछि हरिशरण पक्राउ परेका थिए।
अमेरिका पठाउने भन्दै आफ्ना साथीहरुबाट समेत रकम उठाएर हरिशरणले तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकलाई दिएका थिए। अमेरिका पठाउने भन्दै रकम उठाएर लेनदने गर्ने क्रममा हरिशरणले हरिभक्तको बैंक खाता पनि प्रयोग गरेको अनुसन्धानका क्रममा खुल्यो। पछि हरिभक्तमार्फत उनकी श्रीमती लक्ष्मीको पनि बैंक खाता प्रयोग भएको देखियो। ठगीको रकम कारोबार गर्न बैंक खाता प्रयोग भएको देखिएपछि सई लक्ष्मी पनि अनुसन्धानको दायरामा आइन्। यो अनुसन्धान हुन्जेलसम्म प्रहरीले उनलाई पक्राउ गरेन्। अनुसन्धान सकेर फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु ९श्रीमान्–श्रीमती० उपस्थित भएका थिए।
खाता प्रयोग भएकै आधारमा उनीहरुविरुद्ध अहिले राज्यविरुद्धको कसुर, कीर्ते, ठगी, संगठित ठगी र एकीकृत कसुरको सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको छ। यो प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको अहिले १८ जना प्रहरी हिरासतमा छन्। उनीविरुद्ध सरकारी वकिल कार्यालय र पीडित पक्षका निजी वकिलहरुले मंगलबार बहस सकाएका छन्।
बुधबारदेखि प्रतिवादीहरुका तर्फबाट बहस सुरु भएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपोनको इजलामा थुनछेक बहस भइरहेको छ। प्रतिवादीहरुका वकिललाई न्यायाधीश पौडेलले ६ दिनको समय दिएका छन्। त्यसपछि आदेश गर्ने तयारी छ।