Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टरमार्फत उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले हालसम्म प्राप्त विवरणअनुसार हेलिकप्टर उद्धारमा करिब १४ करोड रुपैयाँ मात्र खर्च भएको जानकारी दिए।
उनका अनुसार उद्धारमा भएको खर्चसम्बन्धी बिल तथा विवरण सरकारले प्राप्त गरिसकेको छ। नेपाली सेनाबाट भने खर्चको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए।
‘हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा आइरहेको छ। बिलसहित १५ अर्ब भनेर भनिएको छ। तर वास्तविक खर्च करिब २० करोड रुपैयाँ रहेछ। १४–१५ करोड खर्च भएको विवरण बिलसहित प्राप्त भएको छ। नेपाल आर्मीबाट विवरण आउन बाँकी छ,’ गृहमन्त्री गुरुङले भने।
उनले विपद्का बेला सरकारले नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर व्यापक रूपमा काम गरेको दाबी गरे। उद्धारमा अर्बौं रुपैयाँ खर्च भएको भन्ने दाबी सही नभएको उनको भनाइ थियो।
‘हामीले नागरिकका लागि व्यापक रूपमा खोज तथा उद्धार गरेका हौं। नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ। अर्बौं खर्च भएको रहेनछ। हामीसँग बिल छ,’ उनले भने।
गृहमन्त्री गुरुङले विपद् प्रतिकार्यमा सरकार अझै सक्रिय रहेको पनि बताए। विपद्का क्रममा नुवाकोटलगायतका स्थानमा सुत्केरी, गर्भवती महिला तथा बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा देखिएको असहजता र कमजोरीलाई सरकारले गम्भीर रूपमा लिएको उनले बताए।
विपद् प्रतिकार्यका क्रममा भएका काम तथा देखिएका कमजोरीको समग्र समीक्षा गरिने पनि गृहमन्त्री गुरुङले जानकारी दिए।
२०८३ आश्विन १५
ताजा नेपाल
२०८३ आश्विन १५
ताजा नेपाल
२०८३ आश्विन १४
ताजा नेपाल