Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

काठमाडौं । भोटेकोशी बाढीका कारण उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन्।

प्रधानमन्त्री शाहले सोमबार बिहानैदेखि सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग निरन्तर छलफल गरिरहेका छन्। यसक्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्।

प्रधानसेनापति सिग्देलले भोटेकोशी बाढीपछि हालसम्म नेपाली सेनाले सञ्चालन गरेका खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सेनापतिबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनबारे जानकारी लिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढी तथा त्यसपछि उत्पन्न विपद्का कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको तथा अझै धेरै नागरिक सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ।

प्रधानमन्त्री शाहले सुरक्षा निकायको परिचालन, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वयमा जोड दिएका छन्।