Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ‘को को बसेर छलफल गर्नुभएको छ। टिकट दिन्नँ दिन्नँ म। हेरौं त कसरी हुन्छ राजनीतिक हत्या, हेरौं त। अहिले पनि म शेरबहादुर दाइसँग कुरा गरेँ। म जान्दिनँ, म यहीँ राजीनामा दिएर जान्छु। हेरौं त टिकट कसरी हुँदो रहिछ।’ नक्कली भुटानी शरणार्थी कान्डमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्णकी पत्नी मञ्जु खाँणले कार्यकर्ताहरूमाझ जनकपुरधामस्थित पार्टीको मधेस प्रदेस कार्यालयमा बोलेका शब्दहरू हुन यी। प्रसंग केही पुरानो हो। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा केही समयअघिको। महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरको टिकट आफूले रोजेकोभन्दा इतरलाई दिएको भनेर प्रदेस सभापतिको कार्यकक्षमा पुगेर मञ्जुले सबैलाई ‘थर्काइ’ रहेकी थिइन्। बर्दिवासको मेयरका लागि जिल्ला समिति र प्रदेस समितिले प्रल्हाद क्षेत्रीको नाम सिफारिस गरेर टिकट दिने निर्णय गरेको थियो। प्रदेस र जिल्ला समितिको त्यो निर्णय मञ्जुले सोचेको भन्दा फरक थियो।
उनी क्षेत्रीको ठाउँमा चिञ्जिवी हमाललाई टिकट दिनुपर्ने पक्षमा जोडबल गरिरहेकी थिइन्। मेयरका लागि क्षेत्रीको नाम सिफारिस भएपछि गत वर्षको १२ वैशाखमा प्रदेस समिति कार्यालयमा मञ्जुको ‘ताण्डव’ मच्चिएको थियो। हामी पनि यहाँ गुलेली खेलेर आएको होइन, राजनीति गरेर आएको हो। मलाई महिला भनेर हेपेको होला, म पनि दुई नम्बर प्रदेसबाट राजनीति गरेर आएको हो। म पनि जितेर आएको केन्द्रीय सदस्य हो। सभापति भेट्न नपाउने, पार्टीको सभापति हो कसैको व्यक्तिको सभापति होइन। कहाँको छोड्छु, कसरी टिकट दिँदो रहेछ हेरूँ त। क–कसले सही गर्नु भएको छ समितिको म पनि हेरूँ त,’ समय समयमा आफू अगाडि भएको टेबल ठोक्दै आक्रोश व्यक्त गरेकी थिइन्, उनले।
त्यो बेला मञ्जुका पति बालकृष्ण सरकारका गृहमन्त्री थिए। १४ औं महाधिवेशनमा खसआर्यतर्फ महिला कोटामा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा जितेको दम्भ देखिन्थ्यो नै पति गृहमन्त्री भएको उन्माद पनि थियो, मञ्जुलाई। ‘छलफलमा टिकट दिनुपर्छ। तपाईं तीन जना टिकट लिन चाहनु भएको छ। एउटालाई टिकट दिँदा दुईवटाको सहयोग चाहिन्छ। चाहिन्छ कि चाहिँदैन ?’ अर्कोतर्फ सोफामा बसिरहेकाहरूतर्फ संकेत गर्दै मञ्जुले भन्छिन्।
अर्कोतर्फबाट जवाफ आउँछ चिरञ्जिवी हमाललाई टिकट दिनुहुन्छ र ?
मञ्जुको उत्तर– किन नदिने ? मञ्जु र जवाफ दिने व्यक्तिहरूबीच वादविवाद सुरू हुन्छ। सोफाबाट उठेर ती व्यक्तिहरूतर्फ झम्टिँदै उनी भन्छिन्,‘तपाईंहरू के गर्नुहुन्छ। गुन्डागिरी। मलाई धम्काउने। को हो तँ ? ल आइज। यो अशोक लामाले मलाई धम्काएको मेरो फोनमा रेकर्ड छ। केन्द्रीय समितिमा लान्छु। ए मलाई महिला ठानिसँ, आइज्। ए, बर्दिवासको गुन्डा आइज्।’ पति गृहमन्त्री भएको बेला मञ्जुको रवाफ छोइ नसक्नुको थियो। प्रदेस र स्थानीय समितिको अडानका विपरित उनले क्षेत्रीको टिकट खोसेर हमाललाई दिलाइन्। कांग्रेस सभापति शेरबहादुर देउवा र खाँणनिकट हमाललाई टिकट दिलाउन प्रदेस समितिको कार्यालयमा मञ्जुले आफ्नो ‘विकराल’ रूप नै देखाइन्। क्षेत्रीको टिकट खोसेर हमाललाई टिकट दिलाउन मञ्जुको त्यो हंगामा हेर्न लायक थियो। मञ्जुले थर्काएपछि क्षेत्रीले बर्दिवास नगरपालिकामा टिकट पाएनन्। तर, उनी बागी बनेर उम्मेदवारी दिए। चुनाव उनैले जिते। मञ्जुको हस्तक्षेपबाट टिकट हमालले पाए पनि मतदाताले उनलाई हराइदिए।
क्षेत्रीले पाएको टिकट खोसेर हमाललाई दिनुपछाडि ठूलै रकमको चलखेल भएको हुनसक्ने त्यो बेला कांग्रेसकै कतिपय नेताहरूको आशंका थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ नयाँ मानिस मुछिने श्रृंखला चलिरहेको छ। र, यही श्रृंखलामा जोडिएकी छन् नेपाली कांग्रसकी सांसद मञ्जु र आरजु राणा देउवा। यद्यपि उनीहरूबारे प्रहरीले कुनै प्रकारको संलग्नता पुष्टि गरिसकेको छैन। नेतृद्वयलाई दुई करोड र ६ करोड बुझाउनुपर्छ भनिएर दुई व्यक्तिबीच भएको एउटा अडियो यसबीच सार्वजनिक भयो। यो प्रकरणमा खाँण पक्राउ परिसकेका छन्। यही भएर पनि उनकी कान्छी पत्नी मञ्जुमाथि धेरैको शंका छ। जुनबेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्च रचिँदै थियो, ठगीमा प्रत्यक्ष जोडिएकाहरूले रकम असुली गरिरहेका थिए, त्यो बेला गृहमन्त्री थिए, खाँण। लोमो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भए पनि खाँण गृहमन्त्री बनेपछि उनी चर्चामा आइन्। पति गृहमन्त्री छँदा प्रहरीको सरूवा बढुवामा मञ्जु सक्रिय भइरहिन्।
पछिल्लो समय देउवाका विश्वासपात्रका रूपमा उभिएका थिए, खाँण। पार्टीको १४ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन दह्रिलो खम्बा बनेका थिए, उनी। महाधिवेशनबाट पार्टीको महामन्त्री बन्ने चाहना थियो खाणँको। तर, देउवाका लागि त्यो पद छाडेर केन्द्रीय सदस्यमै सीमित भए। त्यसको सट्टा पत्नी मञ्जुलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाउन लगाए। कांग्रेसको सहारामा टिकिरहेको सरकारकै पालामा खाँण यतिबेला प्रहरी हिरसातमा छन्। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने ठगीको खाडलमा आफैं परेका छन्। र, यो खाडल खनिदिएका छन्, पत्नी मञ्जुले। गिरोहका एक जना सदस्य र नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्ने एक जना ‘पीडित’ बीचको अडियो यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्यापी छ। यो अडियोमा आर्थिक लेनदेनका संवादहरू छन्। उनीहरूबीच कुन नेतालाई कति दिएको र अब पनि काम नभए पत्रकार सम्मेलन गरेर सबैथोक सार्वजनिक गर्नेसम्मका संवाद भएको छ। ‘केशव दुलाल, म अनि सानु भण्डारी हामी सबैले साथीहरू राखेर कुरा गरेका थियौं। अहिले मौन अवधि छ नि त कोही बिजी छैन नि। दुलाल दाइ, शेखर कोइराला, सुजाता कोइराला, हामी त दुनो गाई। आरजुलाई साढे २ करोड बुझाएको हो। बालकृष्णलाई ६ करोड। बालकृष्ण खाँणलाई भनेर हनुमानस्थानमा मञ्जुलाई बुझाएको हो। सबै रेकर्ड मसँग छ नि’ त्यो अडियोमा गिरोहका एक जना सदस्यले भनेका छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दा बढी नै समयको अडियो प्रहरीले प्राप्त गरेको छ।
‘सामाजिक सञ्जालमा आएको भन्दा लामै अडियो प्रहरीसमक्ष आइपुगेको छ, अनुसन्धान भइरहेको छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘अडियोअनुसार लिंकेज पनि हेर्नुपर्ने हुन्छ।’ यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेको फोनमा भेटिएको डेटाका आधारमा खाँण पक्राउ परे। भुटानी शरणार्थी प्रकरणको गाइँगुइँ सुरू भएर शंकास्पद व्यक्तिहरू पक्राउ पर्न थालेपछि पाण्डेले पनि आफ्नो मोबाइल फोनलाई ‘फर्मेट’ गरेर डेटाहरू उडाइदिएका थिए।
प्रहरीले प्रविधि प्रयोग गरेर पाण्डेले प्रयोग गर्ने मोबाइलको डेटाहरू रिकभर ग¥यो। रिकभर भएको डेटामा खाँण र पाण्डेबीच नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा भएका कुराकानी, आर्थिक लेनदेनलगायतका प्रमाण प्रहरी परेको थियो।
यस्तै खालका ठोस प्रमाणहरू जुटाउनमा लागेका छन्, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू। एक वर्षअघि जनकपुरधामस्थित पार्टीको प्रदेस समिति कार्यालयमा ‘रवाफ’ देखाएर एउटाले पाएको टिकट खोसेर अर्कोलाई दिलाएकी तिनै मञ्जु यतिबेला सम्पर्कविहीन छन्।
यहाँसम्म कि प्रहरी हिरसातमा रहेका पतिलाई समेत उनी भेट्न गएकी छैनन्। विगत केही दिनदेखि मोबाइल अफ गरेर मञ्जु सम्पर्कविहीन भएकी छन्। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका शंकास्पदहरूको खोजी तीब्र पारेपछि यसमा संलग्नहरू धमाधम फरार हुन थालेका छन्। बुधबार चाबहिलको मैजुबहालस्थित निवासबाट खाँण पक्राउ पर्दा उनकी पत्नी मञ्जु भने त्यहाँ थिइनन्।
प्रहरीको टोली बुधबार बिहान खाँणलाई पक्राउ गर्न घरपुग्दा ‘।।।एकैछिन है, फोन गर्छु’ भन्दै उनी कोठाभित्र छिरेर चुकुल लगाएका थिए। त्यो बेला उनले मञ्जुलाई नै भिडियो कल गरेको आशंका प्रहरीको छ। पछि प्रहरीले चुकुल खोलेर खाँणलाई बाहिर निकालेका थिए। तर, अहिलेसम्म मञ्जुको अवस्था भने अन्योल छ। पति पक्राउ परेको दुई दिन बितिसक्दासमेत हिरासतमा भेट्न नआएपछि मञ्जु कहाँ छिन् भन्ने चासो बढेको छ। खाँणलाई भेट्न पार्टीका नेतादेखि घरपरिवारका अन्य सदस्यहरू जिल्ला प्रहरी परिसर टेकु पुग्दा पत्नी सम्पर्कविहीन हुनुले यो घटनामा मञ्जुको संलग्नता हुनसक्ने आशंका गर्न थालिएको छ। भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा छँदा २०७६ जेठमा एउटा कार्यदल नै गठन भएको थियो।
गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण संयोजकत्वमा विज्ञका रूपमा गणेशबहादुर केसी र सदस्य सचिवको रूपमा तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य थिए। पन्थी नेतृत्वको कार्यदलले मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका पठाइदिने र त्यसवापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। तीमध्ये केही नक्कली भुटानी शरणार्थी थिए। पछि खाँण गृहमन्त्री भएपछि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भइरहेको गैरकानुनी काम रोक्न नलगाएर कार्यदलको प्रतिवेदनसमेत कीर्ते गरेर अनुसूची थप्दै थप व्यक्तिहरूको नाम राखिएको पाइएको प्रहरीले जनाएको छ। नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्ने योजनामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरूले बताएका थिए।
नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि प्रतिवेदन गुपचुप राखिएको थियो। त्यो प्रतिवेदन पछि अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरूले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरूलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेका थिए।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल