Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कार्यक्रमस्थलदेखि जिल्ला बैठकसम्म संस्थापन र संस्थापनइतर पक्षबीच टकराव, ८ जिल्लाको अधिवेशन बाँकी रहँदा नेतृत्वमाथि प्रश्न
महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशमा आन्तरिक विवाद चर्किंदै गएको छ । पार्टीभित्र संस्थापन र इतर पक्षबीचको शक्ति संघर्ष सार्वजनिक कार्यक्रमदेखि जिल्ला तहका बैठकसम्म देखिन थालेको छ । पछिल्ला दिनमा पार्टीका सांसदहरू आफ्नै कार्यकर्ताबाट विरोध खेप्दै कार्यक्रमस्थल छाड्न बाध्य भएका घटनाले विवाद थप सतहमा आएको छ ।
बुधबार महोत्तरीमा सभामुख डिपी अर्याल सहभागी एउटा कार्यक्रममा विवाद चर्किएपछि जिल्ला उपसभापति चन्द्रकिशोर महतोले विज्ञप्ति जारी गरे । विज्ञप्तिमा सांसद प्रमोद महतोले आफूलाई आक्रमण गर्न कार्यकर्तालाई उक्साएको आरोप लगाइएको छ । महतो मधेस प्रदेशको अवस्थाबारे बुझ्न त्यहाँ पुगेका थिए ।
कार्यक्रमस्थल निर्धारण गर्ने विषयबाट सुरु भएको विवाद हात हालाहालको अवस्थासम्म पुगेको थियो । बालेननिकट मानिने संघीय सांसद प्रमोद महतो समूहले रास्वपा नेता विष्णु खड्काको होटल विनायकमा कार्यक्रम राख्न दबाब दिएपछि संस्थापन पक्षले त्यसको विरोध गरेको थियो । १ पक्षले सोही होटलमा कार्यक्रम गर्नुपर्ने र अर्को पक्षले संस्थापनइतर पक्षको होटलमा कार्यक्रम गर्न नहुने अडान लिएपछि विवाद झगडामा परिणत भएको थियो ।
दुवै पक्षबीच विवाद बढेपछि सभामुख अर्यालको सचिवालयले कुनै संस्थाको हलमा कार्यक्रम आयोजना गर्न सुझाव दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघको हलमा कार्यक्रम तय भए पनि आन्तरिक विवाद भने साम्य हुन सकेन ।संस्थापन पक्षका एक नेताका अनुसार कार्यक्रम सकिएपछि विवाद फेरि बल्झिएको थियो । जिल्ला उपसभापति चन्द्रकिशोर महतोले सांसद प्रमोद महतोलाई सांसद पदबाटै निलम्बन गर्न सक्ने धम्की दिएको भन्दै सांसद महतो समूह उपसभापतिमाथि जाइलागेको थियो ।
‘मलाई अपशब्द त चन्द्रकिशोर भाइले बोले, तर हात हालाहाल भयो भनेर उनैले विज्ञप्ति निकाल्दा अचम्म लागेको छ, सांसद महतोले भने, जिल्लाका संगठन प्रमुखसहित बुधबार बेलुका छलफल गरेका छौँ । आन्तरिक विवाद हो, मिलाउँछौँ ।
विवाद समाधानका लागि भएको छलफलमा रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मधेस प्रदेश महामन्त्री मनिष साह र केन्द्रीय सदस्य अंकित यादव सहभागी थिए । तर, बैठकले पनि विवाद समाधान गर्न सकेन । बैठकमा उपसभापति महतोले आफैँ लेटरहेड दुरुपयोग गरेको भन्दै कतिपयले उनीमाथि कारबाहीको मागसमेत गरेका थिए ।
महोत्तरीको घटनाभन्दा २ दिनअघि मात्रै सर्लाहीको एउटा कार्यक्रममा सांसद नरेन्द्र साह स्थानीय कार्यकर्ताबाट लखेटिएका थिए । कामभन्दा बढी दलाली गरेको भन्दै भिडले चर्को विरोध गरेपछि सांसद साह कार्यक्रम छाडेर हिँडेका थिए ।
सौर्य दैनिकलाई प्राप्त भिडियोमा स्थानीय युवाले दलाली नगर्न खबरदारी गरिरहेको दृश्य देखिन्छ । उनीहरूले तपाईंहरू राजनीति नगर्नुस् भन्दै गर्दा सांसद साह गाडीमा चढेको देखिन्छ ।
स्थानीय रोशन यादवका अनुसार सभामुख डिपी अर्यालको विषयलाई लिएर त्यहाँ पनि विवाद चर्किएको थियो । युवाहरूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सांसद साह सहभागी नहुने र युवाहरूको भावनालाई तिरस्कार गरेको आरोपसमेत उनले लगाए ।
यसअघि बारा जिल्लामा पनि सांसदहरू आफ्नै कार्यकर्ताको विरोधमा परेका थिए । जिल्लाका पूर्वसभापति चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट पक्षले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेको थियो । त्यसक्रममा उनीहरू एउटा आन्तरिक बैठकसमेत छाडेर हिँड्नुपरेको थियो ।संस्थापन र इतर पक्षबीच चर्किएको विवादका क्रममा जिल्लाका ४ सांसदलाई प्रहरीले सुरक्षा दिएर सुरक्षित स्थानतर्फ लगेको थियो ।
त्यस्तै, १ साताअघि बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित बलुही गाउँमा सांसद रहबर अन्सारी सहभागी चियापान कार्यक्रममा पनि २ पक्षबीच झडप भएको थियो । पार्टीकै २ पक्षका कार्यकर्ताबीच भएको झडपमा १० जनाभन्दा बढी घाइते भएका थिए ।
मधेस प्रदेशको संगठनात्मक अवस्था कमजोर रहेको विषय पार्टीभित्रै तयार गरिएको अध्ययन प्रतिवेदनले पनि औँल्याएको छ । सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा रहेको समितिले मधेसको संगठनात्मक अवस्थाबारे पार्टीलाई बुझाएको प्रतिवेदनमा नेताहरूको भूमिकामाथि प्रश्न उठाइएको छ ।
समितिमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, सहप्रवक्ता सुरेन्द्र चौधरी तथा नेता अशोककुमार चौधरी, जगदीश खरेल र पूनम अग्रवाल सदस्य थिए । उनीहरूले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा संगठनभित्रको विवाद र नेतृत्वको भूमिकाबारे आशंका व्यक्त गरिएको छ ।
समितिका सदस्य अग्रवालका अनुसार संगठनमा एउटा जिल्लामा मात्र समस्या छैन । मधेसका अधिकांश जिल्लामा उस्तै समस्या रहेको उनले बताए । यसको परिणामस्वरूप पालिका र जिल्ला अधिवेशनसमेत हुन नसकेको उनको भनाइ छ ।
८ जिल्लामध्ये पर्साको मात्र अधिवेशन सम्पन्न भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरिएको नेताहरूले बताएका छन् ।
अधिवेशन हुनुअगावै कतिपय जिल्लाका सभापतिहरू नै कारबाहीमा परेका छन् । महोत्तरीका जिल्ला सभापति शुभकुमार यादवमाथि कारबाही गरिएको छ भने धनुषाका सभापतिमाथि पनि कारबाहीको विषयलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच संघर्ष चलिरहेको छ ।
टिकट पाउने प्रलोभनमा रास्वपा प्रवेश गरेका पुराना दलका नेताहरू एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि जिल्लामा संगठन निर्माणको विषय थप विवादित बनेको छ ।
महोत्तरीका पूर्वसभापति शुभकुमार यादवले ठेक्कापट्टा र कमिसनको विषय उठाउँदै कांग्रेस र एमाले परित्याग गरेर संस्थापन पक्षले रास्वपालाई विस्थापित गर्ने खेल खेलेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ज्वाला संग्रौलाको स्टाटस साझा गर्दै स्थानीय तहको मेयर आफू नै हुँ भन्दै हिँड्नेहरूलाई विस्थापित गर्ने चेतावनीसमेत दिएका छन् ।
हरेक स्थानीय तहमा मेयर तथा उपमेयर पदका आकांक्षी धेरै रहेको र उनीहरूले रास्वपाले खोलेको उम्मेदवार क्लबमा नामसमेत दर्ता गराएको अवस्थामा निर्वाचनका बेला यही प्रतिस्पर्धा अर्को चुनौती बन्न सक्ने नेताहरूको भनाइ छ ।
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल