Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल फर्कने बित्तिकै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । युरोप भ्रमणमा रहेका राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका सत्तासाझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बालुवाटार स्रोतको दाबी छ ।

अहिले सरकारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई सरकारमा ल्याउने मा छलफल गरिरहेका छन् । सरकारमा जाँदा आफूलाई उपप्रधामन्त्रीसहितको पोर्टफोलियो दिनुपर्ने सर्त राउतको छ । मधेस प्रदेशमा मुख्यमन्त्री पाएको जनमतले उपप्रधानमन्त्री नपाए राउतले पार्टीबाट अरू नेतालाई पठाउने बुझिएको छ ।

जनमत र नाउपा पार्टीलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिइँदै छ । त्यसका लागि माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितराज तामाङलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई अर्थमन्त्री वर्षमान पुनबाहेक माओवादी केन्द्रबाट मन्त्री भएका सबैलाई फिर्ता बोलाई नयाँलाई अवसर दिनुपर्ने दबाबसमेत रहेको छ

यस्तै, एमालेले कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमध्ये एकलाई फिर्ता बोलाउँदै छ । एमाले केही मन्त्रालय हेरफेर गर्नुपर्ने पक्षमा रहेको छ । परराष्ट्र, स्वास्थ्यसहितका मन्त्रालय एमालेले साटफेर गर्न खोजेको छ । एमालेसँग भएका केही मन्त्रालय छोडेर यी मन्त्रालय लिने रणनीतिमा एमाले रहेको छ ।

नाउपाकी अध्यक्ष श्रेष्ठले पर्यटनमन्त्री आफूले पाउन लागेको जनाएकी छन् । मसँग भएको छलफलमा पर्यटन मन्त्रालय हामीलाई दिने कुरा भएको छ,अध्यक्ष श्रेष्ठले भनिन्, ७ असारपछि मन्त्रिमण्डल पुनर्गठन हुने सूचना छ, राष्ट्रपति नेपाल फर्किएपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

अहिले संसद्मा बजेटमाथि छलफल जारी छ । बजेटप्रति सत्तारूढ दल एमाले, रास्वपाकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका हुन् । एमालेको दबाबकै कारण प्रधानमन्त्री प्रचण्ड केही मन्त्रालयसमेत हेरफेर गर्ने तयारीमा छन् ।

आफ्नै पार्टी माओवादी केन्द्रको दबाब झेलिरहेका प्रचण्डले एमालेसँग केही मन्त्रालय हेरफेर गर्ने र पार्टीका तर्फबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिने पार्टीका पदाधिकारीकारीसँग छलफल थालेका छन् ।