Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री छान्न काँग्रेसमै मारमुङ्ग्री

काठमाडौं । मन्त्रालयको टुंगो लगाएका सत्ता घटकहरुले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने व्यक्ति छान्न भने महाभारत परेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाभन भएको छ । खासगरी सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम माग्नको लागि सभापति देउवाले पौडेल पक्षका नेताहरुलाई बोलाएका थिए । तर, यो विषयमा भन्दापनि पौडेलले पार्टीको महाधिवेशनमा केन्द्रित रहेर कुरा गरेपछि दुई नेताबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताकाअनुसार वरिष्ठ नेता पौडेलले आज पार्टीको १४ औं महाधिवेशन तयारी, क्रियाशील सदस्यता विवाद, पार्टी कार्यालय सानेपामा कार्यकर्ताको धर्नालगायत विषयमा कुरा उठाएका थिए ।
उनकाअनुसार नेता पौडेलले अराजक र एकलौटी नगर्न सभापति देउवालाई चेतावनी दिएका छन् । यसैगरि पेलेर अघि बढ्न खोजे यसको परीणाम ठिक नहुनेसमेत पौडेलले चेतावनी दिएका छन् । खासगरी चाडपर्वको मुखमा पार्टी कार्यालयमा कार्यकर्ता धर्नामा बस्दासमेत सभापतिले त्यसबारेमा कुनै चासो नलिएको र उनीहरुको माग पूरा गराउन प्रत्यत्न नगरेकोमा पौडेल रुष्ट छन् । उता, मन्त्रिमण्डलमा पौडेल पक्षले तीन वटा मन्त्रालय मागेको छ। तर, प्रधानमन्त्री देउवाले तीन मन्त्रालय नदिने अडान लिएका थिए । देउवाले दुई वटा मात्रै मन्त्रालय दिने भनेका थिए । पौडेल पक्षमा मन्त्री हुनेहरुको संख्या धेरै भएपछि नेताहरु दबाबमा छन् ।
खासगरी यसपटक सुजाता कोइरालाले सरकारमा सहभागी हुने भनिरहेकी छिन् । उता, डा. मिनेन्द्र रिजाल पनि सरकारमा सहभागी हुने तयारीमा छन् । पौडेलले कसलाई पठाउने भन्नेबारे निर्णय गर्न सकेका छैनन् । आजको शीर्ष नेताहरुको बालुवाटारको बैठकमा पौडेलले मन्त्रिमण्डल विस्तारबारे खासै कुरा गरेका थिएनन् ।