Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री यादवले ठाडै दिइन् राउतलाई ज्यान मार्ने धम्की

काठमाडौं । सबैतिरबाट कुम्ल्याउन र आफू र सम्धी समेत प्रयोग गरेकी वर्तमान सरकारकी सबैभन्दा बदनाम पात्र जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले अर्को गौर घटना दोहोरिन सक्ने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले राउतलाई यस्तो धम्की दिएकी हुन् । उनले रौतहट ऐतिहासिक जिल्ला भएको भन्दै आफूहरुलाई भाटा नदेखाउन चेतावनीसमेत दिइन् । मन्त्री यादवलाई रौतहटमा जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा तथा भाटा देखाएका थिए । मन्त्री यादवले भनिन्, भाटा देखाउने प्रयास नगर्नुस्, यहाँ लाठी चलाउन अरुले पनि जानेका छन् । बलिदानी दिवसको दिन आफूहरुले हिंसा नगर्न नचाहेको बताउँदै उनले सीके राउतलाई लक्षित गर्दै भनिन्, तुफानसँग टक्राएमा तपाईको त्यही हालत हुनेछ जसरी गौरको राइस मिलमा भएको थियो ।
त्यो इतिहास नदोहोर्याउन चेतावनी दिँदै मन्त्री यादवले अगाडि भनिन्, त्यस्तो गरिएमा घेराबन्दी गरेर सीके राउतलाई पनि मार्न सक्छन्, त्यसैले सतर्क रहनुस् । उनले हिम्मत भए सिंहदरवार घेरेर देखाउन चुनौती पनि दिइन् । उनले भनिन्, तपाईले यो धर्तीको गाई भैंसीको दूध खानु भएको छ भने सिंहदरवार घेरेर देखाउनुस् । २०७३ चैत ७ गते गौरको राइसमिलको मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र माओवादीका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो । झडपमा फोरम नेपालका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई लखेटी लखेटी आक्रमण गरेका थिए । सोही घटनाको स्मरण गराउँदै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष राउतलाई चेतावनी दिएकी हुन् । कार्यक्रमका लागि मन्त्री यादव रौतहट जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । उनीहरुले मन्त्री यादवको विरोधमा नारावाजी गरेका थिए । जनमत पार्टीले किसानका लागि विभिन्न माग राख्दै अहिले आन्दोलन गर्दै आएको छ ।