Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी, गायत्री मार्गस्थित ब्रह्मा मन्दिर उत्खनन् पश्चात पुनर्निमाण गरी आज उद्घाटन गरिएको छ। सो मन्दिरको आज महानगर प्रमुख बालेन्द्र शाह ९बालेन० ले उद्घाटन गरे। उपप्रमुख सुनिता डङ्गोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृति, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न योगदान पुग्ने बताइन्। उनले भने, ‘जहाँ मूर्तिको पूजा हुन्छ। मूर्तिलाई त्यहीँ राख्नुपर्छ। यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ।’ यो मन्दिर हराएकै १०० वर्षभन्दा धेरै भएको थियो। कामपा–८ का वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो। यसपछि झाडी मात्र थियो। पुरातत्व विभागको सहयोगमा मन्दिर उत्खनन गरी यसको प्राचीनताको अध्ययन गरिएको थियो। सङ्गतले भने, अध्ययनबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ। मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुद्वारा मन्दिरको रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो। प्रहरीको संरक्षणमा रहेको मन्दिरभित्र रहेको चतुर्मुख ब्रह्माको मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार यही कात्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गरिएको थियो। वास्तुविद गौरव श्रेष्ठका अनुसार रु एक करोड १२ लाख ४५ हजार लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो। सडकबाट पाँच फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ। माटो, इँटा र काठको प्रयोगबाट पुनर्निर्माण भएको मन्दिर २३।५ फिट उचाइको दुईतले प्यागोडा शैलीको छ। मन्दिरमा शिरमा तीन फिटको गजुर राखिएको छ। उक्त मन्दिर निर्माणका लागि २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो। संस्कृतिविद् मुकुन्दराज वैद्यका अनुसार ब्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनःस्थापना गराउन मद्दतसमेत मिलेको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल