Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलेसियामा मृत्युदण्डबाट जोगिए धनुषाका सुरजदेव

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्ड पाउनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने भएको हो। मलेसियास्थित अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। रोजगारीका लागि मलेसिया पुगेका तेली कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भएका थिए। लरि चालकको हत्या गरेको अभियोगमा उनलाई उच्च अदालतले मृत्युदण्ड सुनाएको थियो। ३८ वर्षीय सुरज त्यहाँको कृषि क्षेत्रमा कार्यरत थिए। सन् २०१६ डिसेम्बरमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो। मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो। तेलीले ६ वर्ष कैद भुक्तान गरिसकेका छन्। फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। अब बाँकी कैद भुक्तान गरेर सुरज नेपाल फर्किने दूतावासले जनाएको छ ।