Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँगै मलेसियाले नयाँ मापदण्ड बनाउँदै मंगलबार विदेशी श्रमिक ल्याउने घोषणा गरेको हो । काठमाडौंस्थित मलेसियन दूतावासका अनुसार मलेसियाको मानव संसाधन मन्त्रालयले प्रस्ताव गरेअनुसार सरकारले विशेष मापदण्ड (एसओपी) पारित गरेको हो । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फाजिल अबु हसनले एसओपी पारित भइसकेकाले नेपालबाट श्रमिक लैजाने बाटो खुलेको बताए । एसओपीअनुसार मलेसिया जाने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त कोभिड खोप लगाएको हुनुपर्नेछ । मलेसिया प्रस्थान हुनुभन्दा ७२ घण्टाभित्र श्रमिकले पीसीआर परीक्षण गर्नुपर्छ । मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बस्नुपर्नेछ । केलाङ क्षेत्रलाई क्वारेन्टाइनका लागि छुट्याइएको छ । क्वारेन्टाइनमा राखिएको दोस्रो र पाँचौं दिनमा पीसीआर परीक्षण गरिनेछ । कोभिड संक्रमण भएमा निजी क्वारेन्टाइन वा न्यून जोखिम उपचार सेन्टर (पीकेआरसी) मा राखिनेछ भने गम्भीर भएमा निजी अस्पतालमा पठाइनेछ । यसको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने कार्यवाहक राजदूत हसनले बताए । मलेसियाबीच भएको द्विपक्षीय श्रम सम्झौतालाई कार्यान्वयन गर्न नेपालले मलेसियालाई प्राविधिक समितिको बैठक बस्न प्रस्ताव गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित आबुधाबी डायलगको साइडलाइन बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले मलेसियाका समकक्षीसमक्ष यस्तो प्रस्ताव राखेका हुन् । श्रम सम्झौतामा नेपाल र मलेसियाबीच आवश्यकताअनुसार द्विपक्षीय अधिकारीहरूको बैठक बस्ने उल्लेख छ । मलेसियाले शून्य लागतमा श्रमिक भर्ना गर्न नेपालसँग श्रम सम्झौता गरेको थियो । बैठकमा नेपाली श्रमिकको मृत्युदर बढेकाले उनीहरूका परिवारले पाउने क्षतिपूर्तिबारे पनि कुरा उठाइएको थियो । पछिल्लो समय लेसियामा नेपाली श्रमिकको मृत्यु अस्वाभाविक रूपमा भएको भन्दै मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले समेत चासो देखाएको छ ।