Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशनको तयारी एजेन्डामा कांग्रेसको संस्थापन इतर समूहको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। १५औँ केन्द्रीय महाधिवेशनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न इतर समूहले बैठक बोलाएको हो।

बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीनवटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।

उनका अनुसार बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै आमन्त्रित सदस्यहरूलाई समेत बोलाइएको छ।

बैठकमा महाधिवेशनको तयारीसँगै पार्टीभित्र देखिएका पछिल्ला राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे समेत छलफल हुने बताइएको छ।

यसैबीच कांग्रेसको संस्थापन पक्षले भने यसअघि नै १५औँ महाधिवेशनको मिति तय गरिसकेको छ। कांग्रेस केन्द्रीय समितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्वनिर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णयलाई यथावत् राखेको थियो।

महाधिवेशनको मिति कायम रहे पनि त्यसको तयारी, संगठनात्मक गतिविधि र पार्टीभित्रको आन्तरिक समीकरणलाई लिएर कांग्रेसका विभिन्न समूहबीच छलफल तीव्र हुँदै गएको छ। संस्थापन इतर समूहको आजको बैठकलाई पनि महाधिवेशन केन्द्रित रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।