Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामन्त्रीले भने, प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । उनले पार्टी र सरकार एउटै लय र उद्देश्यका साथ अघि बढिरहेको दाबी गरेका हुन् ।

आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच विगतमा पनि मतभेद नरहेको र अहिले पनि त्यस्तो अवस्था नरहेको बताए ।

पछिल्लो समय प्रधानमन्त्री र पार्टी सभापतिबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका बेला उनले दुवै पक्षबीच कुनै विवाद नरहेको प्रस्ट्याएका हुन् ।

महामन्त्री आचार्यले पार्टी सभापति र प्रधानमन्त्रीका विषयमा साझा सुझावहरू आएको उल्लेख गर्दै सांसदहरूले तथ्यका आधारमा उठाएका विषयमा समेत कुनै मतभेद नरहेको बताए ।

उनले सरकार रास्वपाकै भएकाले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने तथा आवश्यक प्रश्न उठाउने विषय स्वाभाविक भएको धारणा राखे ।

‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ,’ उनले भने ।

आचार्यले पार्टी र सरकारबीचको सम्बन्धलाई विवादका रूपमा नभई एकअर्कालाई जिम्मेवार बनाउने प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताए ।