Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महिलालाई ६ महिनाको तलबी सुत्केरी बिदा दिने गरी कानून संशोधनको तयारी

चितवन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबी सुत्केरी बिदा दिने गरी कानून संशोधनको तयारी भइरहेको बताएकी छन्।

मन्त्री गौतमले बुधबार सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको तयारी भइरहेको जानकारी दिएकी हुन्।

प्रस्तावित संशोधनअनुसार आमालाई ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा र बाबुलाई ४२ दिनसम्म सुत्केरी स्याहार बिदा दिने व्यवस्था गर्न लागिएको उनले बताएकी छन्।

मन्त्री गौतमका अनुसार ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ। अब मस्यौदालाई मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसदमा दर्ता गर्ने तयारी छ।

हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुत्केरी महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ९८ दिनसम्म बिदा पाउने व्यवस्था गरेको छ।

त्यस्तै, श्रीमती सुत्केरी हुँदा स्याहारका लागि पुरुष कर्मचारीले १५ दिनसम्म बिदा पाउने व्यवस्था ऐनमा रहेको छ।

प्रस्तावित संशोधन पारित भएमा विद्यमान व्यवस्थाको तुलनामा आमाको सुत्केरी बिदा उल्लेख्य रूपमा बढ्नेछ भने बाबुको सुत्केरी स्याहार बिदा पनि १५ दिनबाट बढेर ४२ दिन पुग्नेछ।