Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महिला मुख्यमन्त्रीलाई पनि संकट !

मकवानपूर । भन्नाका लागि समावेशीता भन्ने तर राजनीतिक रुपमा गुटलाई महत्व दिने दलहरुको चरित्र यसपटक पनि देखियो । हिजो माधव नेपालको पक्षमा लागेकी अष्टलक्ष्मी म्यादम नेतृत्वको बागमती प्रदेश सरकारले पनि पूर्णता नपाउदै ढल्नु पर्दै छ । शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन भएको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा चासो देखाइएको थिएन । किनकी उनी रातारात गुट परिवर्तन गरि एमाले विभाजनपछि ओलीको जयजयकार गर्दै थिइनु् । त्यो बापत उनले मुख्यमन्त्री त पाइन तर आफ्नो पद जोगाउने अवस्था छैन । एमालेका सांसदहरुलाई जोगाउने उद्देश्यले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन ढिला गरिएको बताइन्छ।

सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै प्रदेशसभामा सरकार अल्पमतमा पर्ने देखिएको हो । एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने प्रदेशसभा सदस्यहरुलाई मन्त्री पदको आश्वासन दिएर भए पनि रोक्नका लागि तत्काल मन्त्रिपरिषद विस्तार नगरिएको स्रोत बताउँछ । यसले दलहरुमा सत्ता र शक्क्ति लुट र भ्रष्टाचार कति हुँदो रहेछ भन्ने देखायो । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ वटा मन्त्रालय छन् । तर सरकारमा अहिले मुख्यमन्त्रीसहित तीन जनामात्र छन् । भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डेलाई नियुक्त गरेकी थिइन् ।

पाण्डे हिजो माधव पक्षका हनुमान थिए । शाक्यले आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय आफू मातहत राखेकी थिइन् । ती मन्त्रालयमा मन्त्री नियुक्ति नहुँदै मुख्यमन्त्रीको पद नै धरापमा परेको छ । आन्तरिक विवादका कारण नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएपछि शाक्य नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको हो । देशकै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी शाक्यले सरकारलाई स्थायित्व दिन भने निकै कठिन देखिन्छ । प्रदेश सरकारले यतिबेला अंकगणितका आधारमा प्रदेशसभामा बहुमत गुमाइसकेको देखिन्छ । प्रदेशसभामा एकल बहुमत रहेको एमालेले दल विभाजनसँगै आफ्ना दुई सांसदलाई गुमाइसकेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा अझै ८-१० जना सांसद प्रवेश गर्ने तयारी भइरहेको सो पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेको दाबी छ ।