Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघरको डुबानबारे प्राविधिक प्रतिवेदन बुझाउन सुनिता डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा बारम्बार हुने डुबानको कारण पहिचान गरी विस्तृत प्राविधिक प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

मंगलबार डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका प्रतिनिधिलाई प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन्।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

प्रारम्भिक अध्ययनअनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल जडान गरिएको भए पनि निकासतर्फ भने ६० सेन्टिमिटरको मात्रै ढल रहेकाले पानीको बहावमा अवरोध उत्पन्न हुने देखिएको छ। तर, डुबानको कारण यही मात्र नभएको अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ।

अधिकारीहरूले माइतीघर मण्डला आसपासका भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणाली प्रभावित भएको हुन सक्ने अनुमान पनि गरेका छन्। त्यसबारे थप प्राविधिक अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारिने जनाइएको छ।

अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रवाहसँग सम्बन्धित निकायसँग समन्वय गरेर माइतीघर मण्डला क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाउने गरी आवश्यक योजना अघि बढाइने बताइन्।


सम्बन्धित समाचार

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल