Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइतीघरमा लगाउँदैछ सरकारले निषेधाज्ञा, नेपाल प्रहरी, सशस्त्र र सेनाको जोइन्ट टिम तयार

काठमाडौँ । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मंसिर ७ मा काठमाडौँमा हुने भनिएको प्रदर्शनबारे आम चासो छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरिरहेको छ । नेकपा (एमाले) निकट युवा संघको अध्यक्ष क्षितिज थेवे हुन् । तर, मंसिर ७ मा हुने भनिएको शक्ति प्रदर्शनको कमाण्ड चाहिँ पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले गर्ने भएका छन् । प्रदर्शनमा पार्टीको ‘समर्थन’ रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै उद्घोष गरेका छन् । दुवै समूहले काठमाडौँको माइतीघरमा शक्ति प्रदर्शन गर्ने सार्वजनिक रुपमा घोषणा गरेका छन् । दुर्गा प्रसाईँ र युवा संघ माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै छलफल सुरु गरेको छ । आइतबार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरु र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापासँग त्यसबारे छलफल थालेका हुन् । शान्तिपूर्ण प्रदर्शन र कार्यक्रम गर्नुअघि कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार सार्वजनिक कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीकारीबाट स्वीकृति लिनुपर्छ । दुर्गा प्रसाईं नेतृत्वको समूहले कार्यक्रमबारे हालसम्म जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छैन । युवा संघले चाहिँ मंसिर ७ मा माइतीघरमा प्रदर्शनका लागि अनुमति मागेका छ । आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको छ । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट १५ दिनसम्म माइतिघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा लगाउने र निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । एउटै मितिमा एकै ठाउँमा दुई समूहको कार्यक्रम हुन नसक्ने बताउँछन् काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । युवा संघले १५ हजार मानिस उतार्ने आकलन गरिएको छ । फरक समूहका हजारौं मानिस एकैठाउँमा भेला हुन दिएमा ‘झडप’ हुनसक्ने भन्दै फरक स्थान तोक्नेबारे गृह मन्त्रालयमा छलफल भएको छ ।
गृह प्रशासनले माइतीघरमा निषेधाज्ञा लगाएर काठमाडौँको तीनकुने चौर र नारायणचौरमा प्रदर्शन स्थल तोक्नेबारे छलफल गरिरहेको छ । गृह एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले त्यसबारे नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र पूर्व मन्त्री महेश बस्नेसँग पनि छलफल गरेका छन् । प्रदर्शन स्थल फेरबदल गर्नेबारे छलफल गर्न श्रेष्ठ एमाले अध्यक्षको निवास बालकोटमा पुगेका हुन् । एमाले उच्च स्रोतका अनुसार श्रेष्ठले युवासंघको कार्यक्रम तीनकुनेमा केन्द्रित गर्न आग्रह गरेका छन् । युवा संघ तीनकुनेमा कार्यक्रम गर्न तयार भएमा दुर्गा प्रसाईं नेतृत्वको समूहलाई नक्सालस्थित नारायण चौरमा कार्यक्र गर्न अनुमति दिने गृह मन्त्रालयले तयारी गरेको छ ।
प्रदर्शनमा मुठभेट हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाउने गरी सुरक्षा योजना तयार गरिरहेको छ । सुरक्षा योजना गृह मन्त्रालयसँग समन्वय गरेर लागु गर्ने तयारी भइरहेको बताइएको छ । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी र नेपाली सेनाका कर्णेल सहितको ‘जोइन्ट टिम’ हुनेछ ।

 


सम्बन्धित समाचार