Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि अरू पदमा को–को आउलान् भन्ने चासो बढेको छ । नेता–कार्यकर्ताका बीचमा अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने भए पनि उपाध्यक्ष, महासचिव को बन्लान् भन्ने चासो बढेको हो ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ । ११ देखि १५ जनासम्मको पदाधिकारी बनाउने तयारी गरिएको छ ।
माओवादी नेताहरूका अनुसार समावेशी, महिला र खुला गरेर पाँच उपाध्यक्ष बन्नेछन् । प्रचण्डपछि एकजना वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष एक र चारजना उपाध्यक्ष हुने बताइएको छ । नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने तयारी छ ।
महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको चर्चा छ । चीनमा उपचाररत पुन राष्ट्रिय सम्मेलनअघि नै नेपाल फर्कने बताइएको छ ।
उपाध्यक्षमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । माओवादी एक नेताका अनुसार प्रचण्डले कृष्णबहादुर महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन् यसबाहेक देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव, हरिबोल गजुरेल उपाध्यक्ष बन्न सक्छन् । महरा, भुसाल, यादव र गुरुङको उपाध्यक्ष बन्ने सम्भावना बलियो छ ।
गुरुङ र भुसाल मोहन वैद्यको पार्टीबाट रामबहादुर थापा ‘बादल’को नेतृत्वमा विद्रोह गरेर प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए । बादल अहिले एमाले उपाध्यक्ष छन् । बादल एमालेमा गए पनि भुसाल र गुरुङले प्रचण्डलाई साथ दिएकाले उनीहरू उपाध्यक्ष बन्ने सम्भावना बलियो छ ।
पुन र शर्मा एकजना महासचिव बन्दा एकजना उपाध्यक्षमा पनि जान सक्ने सम्भावना छ ।
माओवादीमा महासचिवपछि सचिव समेत बनाउने चर्चा छ । संघीयतामा मुलुक गइसकेको अवस्थामा पदाधिकारीको संख्या बढाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा सहमतिबाटै नेतृत्व चयन हुने बताइएको छ । निर्वाचनको प्रक्रिया अवलम्बन गरिए पनि प्रचण्डले नै चाहेका व्यक्ति पदाधिकारीमा आउने नेताहरू बताउँछन् ।
माओवादीमा सुरुमा केन्द्रीय कमिटी चयन गरिने र सोही केन्द्रीय कमिटीले अध्यक्षसहितका पदाधिकारी टुंग्याउने बताइएको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल