Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीतिर तीन महिनासम्म आँखा मात्रै तन्काउने

काठमाडौं। दशकौंपछि राजधानीबासीको सपना पूरा गरेको मेलम्ची खानेपानी फेरि अन्योलमा फसेको छ । काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ । भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जानकारी दिएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । उनका अनुसार वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनः अवरुद्ध हुने सम्भावना हुन्छ । पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । ‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताए । अरु संरचनामा भने सोही कम्पनीले गर्ने वा अरुले गर्ने कि भन्ने टुंगो लाग्न बाँकी छ । समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने उनले बताए । अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनः डाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जानकारी दिएको छ । अहिले पुनः मेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आगामी वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने उनले बताए । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा संघीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।


सम्बन्धित समाचार