Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थानीय निर्वाचन सकिएको चार दिनपछि नेपाल आउँदैछन् । यो उनको चौथो औपचारिक नेपाल भ्रमण हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भ्रमण गर्न लागेका मोदीको यो धार्मिक भ्रमण भन्दा पनि राजनीतिक भ्रमण नै हुनेछ । धेरैलाई भ्रम छ भारतमा भाजपाको सरकार बनेपछि नेपालमा हिन्दू राष्ट्रको लागि आधार निर्माण हुन्छ । यथार्थमा यो सत्य होइन । कुनै समय तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विद्रोही माओवादी नेतासँग भेटघाट र वार्तालाप गर्न तत्कालिन नेपाली काँग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीलाई दिल्ली पठाएका थिए । जोशीले तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई भेटे । डा. भट्टराईले हामीहरू २०४७ को संविधानमा केही अधिकारहरू कटौती गरेर अवतरण गर्न तयार छौं । तर यो कुरा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जर्ज फर्नान्डिज र तत्कालिन अवस्थामा भाजपाको तर्फबाट प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीसँग कुरा गर्नु पर्दछ भने । यही सन्देश लिएर जोशी फर्किए र कोइरालालाई अवगत गराए । गिरिजाप्रसाद कोइराला भारत गएर अटल बिहारी बाजपेयीलाई भेटे । भाजपाका तत्कालिन प्रधानमन्त्री बाजपेयीले माओवादीले संविधानसभा विना मान्दैन भनेपछि गिरिजाप्रसाद कोइराला आश्चर्यमा परे । किनभने बाजपेयीसँग कुरा गर्नुभन्दा पहिला उनले जोशीमार्फत् माओवादीको मनोविज्ञान बुझिसकेका थिए । जोशी अहिले पनि हुनुहुन्छ, यो कुरा जोशीसँग बुझ्दा प्रष्ट हुन्छ । यसकारण भाजपा र आरएसएसको नेपाललाई हिन्दू राष्ट्र बनाउने योजना होइन । उनीहरू यहाँको हिन्दूत्व जनमतमाथि खेल्दै आरएसएस जस्तो पश्चिमा र चिन विरोधी आधारक्षेत्र निर्माण गर्ने हो । यसको लागि उनीहरूले मातृभूमि स्वयंसेवक संघ जो आरएसएसको नेपालमा रहेको भातृ संस्था हो । यही संस्थामार्फत् आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् । ओखलढुंगाबाट राजा महेन्द्र रुखमा राम्रो मादल बजाएका बालकबाट प्रभावित भएर एउटा केटोलाई दरबारमा ल्याए । उनको नाम दरबारमा छलफल गरेर रुकमाङगद कटवाल राखियो । दरबारमै हुर्के बढेका कटवाल गणतन्त्र घोषणाका क्रममा भारत र पश्चिमासँग उभिएर सहयोग गरेका कारण अहिले आरएसएसले आफ्नो विश्वासपात्रका रूपमा पूर्व प्रधानसेनापति कटवाललाई नै अगाडि सारेको छ । यसबाट पनि स्पष्ट बुझ्न सकिन्छ आरएसएस र भाजपाको नेपाल मिशन के हो ?
यही मिशनलाई निरन्तरता दिन मोदीले खोजिरहेका छन् । तर, आरएसएसको नेपाल विरोधी गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेको हिन्दूत्व संगठन पनि नेपालभित्र रहेको हुनाले उनीहरूका गतिविधिहरू खुल्ला रूपमा अघि बढ्न सकिरहेको छैन । अहिलेको स्थानीय निर्वाचनमा बाहिर खुल्ला रूपमा नदेखिए पनि भारत र भाजपाले केपी ओली र एमालेलाई भित्री रूपमा सहयोग गरिरहेको छ । नेपालको तराईका दक्षिणी भेगका भारत परस्त केही विभिन्न पार्टीका जिम्मेवार नेतृत्व तहमा रहेका व्यक्तिहरू निर्वाचन भन्दा पूर्व एमालेमा प्रवेश गर्नुलाई भाजपा र भारतको ग्रिन सिग्नलको रूपमा बुझ्न सकिन्छ । जस्तो, कपिलवस्तुमा मंगलप्रसाद गुप्ता, ब्रिजेशकुमार गुप्ता, वीरगञ्जमा विजय सरावगी लगायतका व्यक्तिहरू दक्षिणको इशाराविना एमालेमा प्रवेश गरेको कुरा पत्याउन कठिन हुन्छ । त्यसैगरी तराईलाई आधार क्षेत्र बनाएर काँग्रेस छाडेर पार्टी निर्माण गरेका महन्त ठाकुरको ओलीसँगको निकटतालाई पनि भारतको संस्थापन पक्षसँगको निकटताको आधारमा नै हेरिएको छ ।
यस्तो स्थितिमा हुन लागेको मोदीको नेपाल भ्रमण स्थानीय निर्वाचनको परिणामपछि भारतले आफ्नो भूमिका कसरी बढाउने भन्ने तर्फ नै केन्द्रीत रहेको छ । जहाँसम्म नेपालमा रहेका आरएसएस र दरबारको सचिवालय जो रअ र सिआईएसँग सम्पर्कमा रहेका व्यक्तिहरू छन् उनीहरूले भाजपा र पश्चिमाको आडमा राजतन्त्र पुनस्र्थापना हुन्छ भन्ने भ्रम फैलाइरहेका छन् । त्यो पूर्ण रूपमा असत्य छ । स्मरण रहोस् २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डको समयमा भारतमा भाजपाकै अटल बिहारी बाजपेयी प्रधानमन्त्री थिए । यसकारण भाजपामार्फत् नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापना हुन्छ भन्नु गलत कुरा हो । यतिबेला राजनीतिक मैदानमा कमल थापाको पराजयपछि पार्टीको अध्यक्ष बन्न पुगेका राप्रपाका राजेन्द्र लिङदेन जनतामा देखाउने पोष्टर मात्रै हुन् । यो पार्टीभित्र ३० वर्षको पञ्चायतमा राजनीतिक अनुभव सँगालेका लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिसमशेर राणा, टंक ढकाल, दिपक बोहोरा, बुद्धिमान तामाङ, निरञ्जन थापा जस्ता खुंखार हस्तीहरू रहेका छन् । हो, यतिबेला बाह्य रूपमा उनीहरूको चर्चा नभएर पार्टी अध्यक्षको रूपमा राजेन्द्र लिङदेनको चर्चा बढी हुने गरेको छ । लिङदेनको उदयपछि भारत र पश्चिमाको काम गर्दै राजतन्त्रको व्यानरमा परिचालित तथाकथित लेटरप्याडे पार्टी र अभियन्ताहरूको भूमिका लगभग समाप्त भएको छ । यो स्थितिमा परम्परागत कञ्जरभेटिभ पार्टीको रूपमा राप्रपाको उदय हुने सम्भावनाले पनि भावी राजनीतिलाई कुन दिशातर्फ लैजान्छ भन्ने कुरा अध्ययन र अन्वेषणको विषय हुन सक्छ ।
समग्रमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दामा होइन, नेपालको हिन्दूत्वमाथि आरएसएसलाई कसरी हावी गराउने र नेपालमा पश्चिमाको आडमा चीनलाई कसरी रोक्ने भन्ने रणनीतिमै केन्द्रीत रहेको छ । यसकारण नेपालका वैदिक सनातन हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले नयाँ रणनीतिअनुसार आफ्ना एजेन्डाहरू अगाडि लैजानु पर्दछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल