Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । कानुन सबैलाई बराबर हुनुपर्छ । आफ्नालाई जोगाउन र अर्कालाई तान्ने काम सरकारमा बसेका जो कोहीले गर्नु हुँदैन । हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने दोहो¥याए पनि ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान अघि बढेको छैन । आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो । गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो । अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । पुस १० मा बिहान ७।१० देखि अपराह्न १२ बजेसम्म विमानस्थलको आगमन कक्षको यात्रु शाखा प्रमुखको हैसियतमा ड्युटीमा खटिएका विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले प्रहरीलाई दिएको बयानअनुसार सुरुमा ठूलो परिमाणको भेप भनेर रोकिएको हो ।
भेप जफत गरी भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको २र३ दिनपछि यात्रु शाखामा पुगेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले तोकिएको राजस्व लिई जाँचपास गरी दिन अनुरोध गरेका थिए । भन्सार एजेन्ट फर्किएको केही समयपछि पूर्वसभामुख महराका छोरा राहुलले भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेका थिए ।श्रेष्ठले यस्तो बयान दिए पनि तस्कर र बिचौलियाहरूको मिलेमतोमा भन्सारका कर्मचारीहरूको मिलिभगतमा सुन बेचिएको थियो । यसको सुराक खुलेपछि भन्सार कार्यालयले गत वैशाख २६ मा प्रहरीको सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न आग्रह गरेको थियो । त्यसका आधारमा ब्युरोले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्वसभामुख र उनका छोरामाथि थप अनुसन्धान गरेको छैन । भेप लिलामीमा किन्न खोजेको आरोपमा पाँच आरोपीलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर मुद्दा चलाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आरोपी ९ मध्ये वर्ष ३९ का भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, कागेश्वरी मनहराका ३२ वर्षीय दिनेश बस्नेत र पोखरा गैह्रापाटनका २२ वर्षीय निर्मलकुमार विकलाई थुनामा राख्ने आदेश गरेको हो । उनीहरू सबै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुन लाग्दा जफत भएको सुन गैरकानुनी रूपमा बेचबिखन गर्ने गिरोहका सदस्य हुन् ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल